सुर्खेत । सुर्खेतमा सञ्चालित अटोरिक्सा (टेम्पो) मा भाडादर नराखे प्रशासनले कानरबाही गर्ने भएको छ ।
अटोरिक्साहरूले नागरिकबाट मनोमानी भाडा असुलेको सर्वत्र गुनासो आएपछि अटोरिक्सामै भाडादर राख्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अटोरिक्सालाई भाडादरको सूची अनिबार्य राख्न निर्देशन दिने बताए ।
प्रशासनले अटो रिक्सालाई व्यवस्थित गराउन अभियानसमेत थाल्ने उल्लेख गरेका अधिकारीले भने, ‘अटोरिक्साका सम्बन्धमा धेरै गुनासाहरू आएका छन् । यसअघि अटोरिक्सा व्यवस्थापनका लागि धेरै काम भए पनि प्रभावकारी भएका छैनन् ।’
सडक सुरक्षाका लागि सप्ताहव्यापी अभियानको थालनी गर्ने जानकारी दिँदै उनले अभियानअन्र्तगत अटो व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी दिए । आगामी माघ १५ सम्ममा अभियानको थालनी हुने जानकारी दिँदै उनले सवारी चालक अनुमतिपत्र नभएका अटो चालकलाई सडकमा अटो गुडाउनबाट रोकिने बताए । उनले भने, ‘वीरेन्द्रनगरलाई कति अटो आवश्यक छ ? कुन रुटमा कति अटो रहने बारे पनि छलफल गर्छौ । लाइसेन्स नभएकालाई किन चलाउन दिने ? अटोहरू अव्यवथित भए ।’
सुर्खेतमा सञ्चालनमा रहेका अटो चालकहरूमध्ये १५ प्रतिशत चालकसँग मात्र सवारी चालक अनुमतिपत्र भएको अधिकारीले जानकारी दिए । हाल सुर्खेतमा एक हजार नौं सय वटा अटो सञ्चालमा रहेका छन् । जसमध्ये तीन सय चालकसँग मात्र लाइसेन्स छ । बाँकी सबै चालक लाइसेन्स बिनै अटो दौडाइरहेका छन् । उनले भने, ‘लाइसेन्स नभएका अटोरिक्सा चालकलाई कारबाहीमा ल्याउछौँ । लाइसेन्स भएकालाई उत्साहित गर्छौ ।’
अटो रिक्साले ट्राफिक व्यवस्थापनमा समेत समस्या पारेको तथा नागरिकबाट मनोमानी भाडा असुलेको बताउँदै उनले अटोमा भाडादर राखिएको सूची राखिने जानकारी दिए । अटोका लागि तोकिएको चौकमा भाडादर लेखिएको होडिङ्ग बोर्ड तथा अटोमै समेत भाडादरको सूची राखिए मनोमानी भाडादर रोकिने बताउँदै उनले भने, ‘सवारी साधन ऐन बमोजिम टेम्पोमै रेटलिष्ट राख्ने व्यवस्था गरिएको छ । त्यसलाई कार्यान्वयन गराउछौँ । सवारी धनीलाई समेत लाइसेन्स नभएकालाई गाडी दिएमा कारबाहीको दायरामा ल्याउने तयारी छ ।’
यसका साथै सडक सुरक्षा सप्ताह अभियानमा सडक सुरक्षाका लागि जेब्रा क्रसिंङको सही प्रयोगलगायतका कार्यक्रमहरू रहने उनले जानकारी दिए ।