सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएका १ हजार ७ सय अटो रिक्सामध्ये हरेक दिनजसो ५ वटा अटो रिक्सा ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गरेका छन् ।
यातायात सञ्चालनमा निकै अव्यवस्थित देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी चालक अनुमतीपत्र नलिएका, अनियन्त्रित रुपमा सवारी साधन चलाएका, सीमाभन्दा धेरै यात्रु बोकेका कारण यती संख्यामा अटोरिक्सा कारबाहीमा पर्ने गरेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कात्तिक महिनादेखि पुस मसान्तसम्मको अवधिमा ३ सय ९७ अटो रिक्सालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालनमा आएका १ हजार ७ सय अटो रिक्सा रहेका बताएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुर्खेतका प्रमुख उदयसिंह सिजापतीले तिनीहरुमध्ये अधिकांश अटो रिक्सा चालकसँग सवारी चालक अनुमति पत्र नभएको उल्लेख गरे । ‘सवारी चालक अनुमति नभएका धेरै चालकलाई हामीले हरेक दिन कारवाही गरेका छौं ।’ उनले भने, ‘कयौं अटो रिक्साले ट्राफिक नियमको उल्लंघन गरेकाले कारबाहीमा पर्ने गरेका छन् । वीरेन्द्रनगरमा सार्वजनिक यातायातका रुपमा अटो रिक्सा निकै सहज र सुलभ यातायातका साधनका रुपमा प्रयोग भइरहेको स्वीकारेका सिजापतिले १५ देखि २२ प्रतिशत अटो रिक्साले मात्रै सवारी चालक अनुमति लिएको जानकारी दिए । उनले भने, ‘सवारी चलाउनका लागि अनुमति पत्र अनिवार्य लिनै पर्छ । नलिए यो गैरकानूनी र अवैधानिक हुन्छ । त्यस्तो देखे ट्राफिक प्रहरीले कारवाही गर्छ ।’ प्रदेश राजधानी सुर्खेतबाटै सवारी चालक अनुमती पत्र वितरण गर्ने व्यवस्था भए त्यस्तो संख्यामा कमी आउने बताएका उनले मापसे गरेर चलाएकाले पनि धेरै सवारी साधन कारवाहीमा पर्ने गरेका छन् ।’
५७४ मात्रै दर्ता
वीरेन्द्रनगर नगरपालिकाको उद्योग नियमन शाखाका अनुुसार हालसम्म पाँच सय ७४ वटा अटो रिक्सा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन् । त्यसमध्येका दुई सय ६५ वटा अटोले मात्रै पंजीकृत भएर रुट प्रमिट लिएका छन् ।
पंजीकृतको लागि लाइसेन्स चाहिने र लाइसेन्स भए मात्रै रुट प्रमिट दिइने भएकाले अधिंकाश अटो रिक्सा रुट प्रमिट बिना सञ्चालन भइरहेको वीरेन्द्रनगर नगरपालिका उद्योग नियमन शाखामा प्रमुख इन्द्रबहादुर थापाले बताए । ‘नगरपालिकाले पटक–पटक अटो रिक्सा दर्ता र रुट प्रमिटका लागि जानकारी गराए पनि अटो व्यवसायीले अटेरी गर्ने गरेका छन् ।’ उनले भने, ‘अहिले पनि कयौं अटो रिक्सा रुट प्रमिट र दर्ता बिना नै सञ्चालनमा आएका छन् ।’
अटो रिक्साबाट तीन लाख ३१ हजार राजश्व
कात्तिक महिनादेखि पौष महिना ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ९७ अटो रिक्साबाट ३ लाख ३१ हजार ५ सय राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सिजापतिका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने अटो रिक्साबाट राम्रो राजश्व संकलन भएको बताए ।
अनुमति पत्र नहुँदा ट्राफिक कारवाही गर्छ; अटो चालक
जुम्लाका समिर बुढाले वीरेन्द्रनगरमा अटो चलाउन थालेको चार महिनासम्म पनि सवारी चालक अनुमति पत्र लिन नपाएको बताए । ‘मसँग सवारी चालक अनुमति पत्र नहुँदा नौं पटकसम्म ट्राफिक प्रहरीको कारवाहीमा परेँ ।’ उनले भने, ‘ट्राफिक प्रहरीको कारवाहीमा एक हजारदेखि १५ सयसम्म जरिवाना तिर्दै आएको छुँ ।’
सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र दिने सुविधा नभएका कारणले समस्या परेको वीरेन्द्रनगर १२ चनौटेका अटो रिक्सा चालक कृष्णबहादुर विकले बताए । ‘विगत ६ महिनादेखि लाइसेन्सको लागि जति प्रयास गर्दा पनि बनाउन सकिएको छैन ।’ उनले भने, ‘नेपालगञ्ज कहिले खुल्छ केही थाहा नै हुँदैन ।’
आगामी हप्ताबाट सुर्खेतमा सवारी चालक अनुमति पत्र
यातायात व्यवस्था सेवा कार्यालय सुखेतले आगामी हप्तादेखि सुर्खेतको वीरेन्द्रनगरबाट सवारी चालक अनुमति पत्र दिने कार्यालयका सूचना अधिकारी अर्जुन पौडेलले बताए । ‘अनलाईन सिस्टमको विकासका लागि भारतको ‘मदरास सेकुरेटी एण्ड प्रिन्टिङ’ कम्पनीसँग छलफल अघि बढेको छ ।’ उनले भने, ‘आगामी हप्ताबाट नै हामीले सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र पाउने छौं ।’