सुर्खेत । सुर्खेतमा नेपालकै अग्लोे बौद्ध सरोवर निर्माण हुने भएको छ । वीरेन्द्रनगर वडा नम्बर ६ स्थित बुद्धपथ लाइनमा एक सय ८ फिट अग्लो सरोवर निर्माण गर्न लागिएको हो । सरोवर निर्माणको लागि यस अघिनै करिव आठ कठ्ठा जग्गा छुट्टाइएको थियो ।
सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकायले सरोवर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको बताए । अध्यक्ष रोकायका अनुसार सरोवर निर्माणका लागि नौदेखि ११ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सरोवरसँगै ३५ फिट अग्लो बौद्ध झण्डा अनुरुप पानीको फोहोरा निर्माण गरिनेसमेत उनले जानकारी दिए । सरोवर आगामी दुई वर्षभित्र सम्मन्न हुने लक्ष्य लिइएको छ ।
समितिले सरोवर निर्माणको लागि तीनै तहका सरकार र नागरिकस्तरबाट सहयोग संकलन गरेर रकम जुटाउने रोकायले बताए । उनले भने, ‘प्रदेश राजधानीमा बन्ने सरोवर पर्यटकिय दृष्टिले पनि उपयुक्त छ । यसमा खासगरी सरकारले बढी तदारुकता देखाउनुपर्छ ।’ निर्माणमा रकम जुटाउन नागरिकस्तरमा सहयोगको आव्हान गरिएको पनि अध्यक्ष रोकायले जानकारी दिए । सरोवर निर्माणका लागि केही वर्ष अघिदेखिनै पहल शुरु भएको थियो । दाताहरुले सरोवर निर्माणको लागि रकमसमेत कबोल गरेको र सो रकम उठने क्रम जारी रहेको उनको भनाई छ । सहयोग रकम ई–सेवामार्फत पनि दिन सकिने छ ।
यसैबीच सरोवर निर्माणमा सहयोग संकलनको लागि शनिबार देखि ‘धम्म देशना’ शुरु गरिएको छ । माघ ९ गते सम्म सञ्चालन हुने ‘धम्म देशना’बाट ५०लाख बढि सहयोग रकम संकलन हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटनको दिन नगद र प्रतिबद्धता गरेर करिव १ लाख बराबरको दान संकलन भएको छ ।
उद्घाटन कार्यक्रममा गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्र बहादुर गुरुङले ५१ हजार, झकबहादुर सिंजापति मगरले ३१ हजार १ सय १ रुपैयाँ र कर्णाली प्रदेशसभा सदस्य शोसिला शाहीले १० हजार १ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सरोवर निर्माणले कर्णालीको पर्यटन विकासमा समेत टेवा पुग्ने भएकोले सरकारले आवश्यक सहयोग गर्ने बताए । मन्त्री बुढाले तत्कालै डिपिआर मन्त्रालयले प्राप्त गरे समपुरक र विशेष अनुदानमार्फत सहयोग गर्न सक्ने जानकारी दिए ।
दानदातालाई सम्मान
निर्माण समितिले सरोवर निर्माणमा सहयोग गर्ने दानदातालाई सम्मान गर्ने भएको छ । समितिका अनुसार ३ हजार दान गर्नेलाई आजीवन सदस्य, १० हजारदेखि २१ हजारसम्म सहयोग गर्नेको शिलापत्रमा नाम, २१ हजार देखि ५१ हजारसम्म दान गर्नेलाई सम्मानपत्रसहित श्रीमान् र श्रीमतीको शिलापत्रमा नाम राखिने, ५२ हजारदेखि एक लाखसम्म दान गर्नेलार्ई परिवारको नाम शिलापत्रमा उल्लेख गरिने, एक लाखदेखि २५ लाखसम्म दान गर्नेको तीन पुस्ते नाम शिलापत्रमा उल्लेख गरिने र २५ लाखदेखि ५१ लाखसम्म दान गर्नेको ३ पुस्ते नाम उल्लेख गरिनुका साथै निर्माण हुने ब्लकमा समेत नाम उल्लेख गरिने समितिले जनाएको छ ।