असोज १०, लिबाङ रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पा बन्दले रोल्पाली जनजीवन प्रभावित भएको छ ।
नेकपा विप्लवको बन्द आव्हानका कारण बुधबार (आज) बिहानैदेखि यहाँका बजार खुलेका छैनन् । यातायातका साधन पनि चलेका छैनन् । उच्च माध्यमिक विद्यालय र क्याम्प सको बिहानी कक्षा अबरुद्ध भएका छन् ।
असोज दश गत्ते बन्द भन्ने सूचना भएपनि यद्यपि, बन्द कति गत्ते भन्ने विज्ञप्तिमा उल्लेख छैन । तर आज जिल्ला बन्द भएको हो । नेपालबोटलाई प्रप्त माओवादीद्धारा जारी विज्ञाप्तिमा मिति समेत उल्लेख गरिएको छैन्।
नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई प्रहरीले गरेको गिरफ्तारीको विरुद्ध जिल्ला बन्द आव्हान गरेको बताइएको छ आफ्ना नेता र कार्यकर्ताको निशर्त रिहाई हुनुपर्ने भन्दै नेकपाको जिल्ला पार्टीले गिरफ्तारीको कडा शब्दमा विरोध गरेको छ ।
कार्यवाहक सेक्रेटरी विश्वको हस्ताक्षरमा जारी विज्ञाप्तिमा शान्तिपुर्ण रुपमा साँस्कृतिक कार्यक्रममा सहभागी भैरहेको वेला सेक्रेटरी सुवेदीलाई गुण्डा शैलीमा गिरफ्तार गरेको भन्दै चर्को बिरोध गरिएको छ । सुवेदीलाई एक हप्ताअघि रोल्पा नगरपालिका १० धबाङको भनभनेबाट प्रहरीले नियन्त्रणमा ल्याएको थियो । शान्ति सुरक्षामा खलल पारेको आरोपमा उनलाई सार्वजनिक मुद्दामा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सुवेदी पक्राउ पर्नु अघि नेकपाका सचिवालय सदस्य दिनेश वली पनि पक्राउ परेका थिए । वली केही दिनअघि रिहा भैसकेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र नेकपाकै अर्का नेता सुर्य खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । आफ्ना कार्यकर्ताको सृंखलावद्ध गिरफ्तारीले नेकपाका नेता आक्रोशित बनेका छन् ।
नेकपाले रोल्पालाई मात्र बन्द गराएर वर्तमान सरकार र रोल्पाको प्रशरी प्रशासन प्रति आक्रोशको सन्देश दिन चाहेको बताइएको छ। बन्दले भने जनजीवन प्रभावित भएको छ । करिव ९० हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ । लामो र छोटो दुरीका यातायातका साधन नचल्दा यात्रु अलपत्र परेका छन ।
जिल्ला भित्रिने सवारी साधन भिंग्रीमा रोकिएका छन । दक्षिणी रोल्पा भित्रिने सवारी साधन दाङ घोराही र होलेरीको सिमानामा अलपत्र परेको यातायात व्यवसायीले जनाएका छन् । सदरमुकाम लिबाङ पुरै सुनसान छ । बालबालिका सडकमा क्रीकेट खेलिरहेका छन् । पुर्वी सुलिचौर बजार, दक्षिण होलेरी र पश्चिमी घर्तिगाउँ, बागमारा लगायतका बजार बन्द छन् ।