सिमकोट । कर्णाली प्रदेशको हुम्लामा एक सिलिण्डर ग्याँसको मुल्य १२ हजार रुपैयाँ पर्ने गरेको छ । सडक संजालले नछोएको हुम्लामा लामो समयको हिमपातपछि दाउराको अभाव भएपछि एक सिलिण्डर ग्याँसको मूल्य १२ हजार रुपैयाँ पुगेको हो ।
सडक संजालले छोएको मुगुको गमगढीमा एक सिलिण्डर ग्याँसको रुपैयाँ मुगुको गमगढीबाट व्यापारीहरुले चार हजार रुपैयाँ किनेर हुम्लामा प्रति सिलिण्डरको १२ हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
मुगुको गमगढीदेखि हुम्लाको सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने ग्याँस सिलिण्डरको साढे १२ हजार मूल्य पर्ने गरेको छ ।
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्याँसको बिक्री बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महंगो ढुवानी भएर आएको ग्याँसको बिक्री स्थानीय व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेको सिमीकोट बजारकी मधु बस्नेतले बताइन् । ‘यसअघि अनावश्यक परेको बेला मात्र ग्याँस चुल्हो प्रयोग आएका थियौं ।’ उनले भनिन्, ‘हिमपातपछि दाउराको समस्या हुँदा ग्याँसको प्रयोग गर्ने गरेका छौं । त्यसको एक सिलिण्डडरको मूल्य साढे १२ हजार रुपैयाँ पर्छ ।’
हुम्लाको सिमिकोट बजारका आधा दर्जन घरमा ग्याँस चुल्हो बल्ने भए पनि हिमपातको कारण यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको ब्यापारी लोकेन्द्र शाहीले बताए । ‘त्यति नै संख्यामा अरु पनि अर्डर आएकोले मुगुबाट फेरि ग्याँस सिलिण्डर ढुवानी गरेर ल्याउने तयारी भइरहेको छ ।’ उनले भने, ‘जति महङ्गो भए पनि ग्याँस बाल्नुको विकल्प छैन् । कि त भोकै बस्नुप¥यो ।’ दाउराको झन्झटबाट मुक्ति पाउनका लागि पनि ग्याँस प्रयोग गर्नेको संख्या बढिरहेका बेला हिमपातको कारण दाउरा पाउनै छोडेपछि यसको प्रयोग गर्नेको संख्या पाँच दोब्बरले वृद्धि भएको शाहीले बताए ।
‘ग्याँस चुल्होको प्रयोग गर्ने कार्यालय, ब्यापारी, होटेल ब्यबसायी र ब्यक्तिहरु रहेका छन् ।’ उनले भने,‘टाढाबाट सिलिण्डर ढुवानी गरेर ल्याउन कठिन भएपछि हुम्लामा ग्याँस महंगो भएको हो ।’