कालीकोट । फुकोट कर्णाली जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि अधिग्रहण प्रक्रिया शुरु भएको छ । आयोजनाका लागि प्रभावित क्षेत्रका स्थानीयबासीको जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको हो ।
फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले जलविद्युत आयोजना निर्माण क्षेत्रमा पर्ने प्रभावितहरुको जग्गा अधिग्रहणका लागि बुधबार सार्वजनिक सूचना प्रकाशन
गरेको छ ।
प्रशासनले बाँध निर्माणबाट डुबानमा पर्ने कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्ना गाविसमा रहेका प्रभावितहरुको जग्गा अधिग्रहणको प्रक्रिया थालनी गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए । ‘प्रशासनले आयोजनाको बाँध डुबान क्षेत्रमा पर्ने प्रभावितहरुलाई जग्गाको मुआब्जा दाबी गर्न अपिल गरिएको छ ।’ उनले भने, ‘३५ दिने हकदावीका लागि सूचना प्रकाशित गरिएको हो ।’
आयोजना निर्माणका लागि एक हजार एकसय ४९ परिवारलाई जग्गाको क्षेत्रफलसहितको जग्गा धनीको प्रमाण पेश गर्नका लागि आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताए ।
४ सय २६ मेगावाट क्षमताको यो आयोजनामा आगामी ६ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो आयोजनाको सरकारले ल्याएको ‘पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत निर्माण शुरु भएको
आयोजना प्रमुख हिरावान वाइवाले बताए । ‘स्थानीय र नेपाल सरकारको लगानीमा यो आयोजना अगाडि बढ्ने छ ।’ उनले भने, ‘आवास गृह निर्माणका लागि सरकारले जग्गा अधिग्रहण स्विकृति पहिले नै दिइसकेको थियो ।’
आयोजना स्थलमा पुरै जग्गा गरेका जग्गा धनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए ।
छ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको आयोजनाका लागि करिब १ खर्ब बजेट आवश्यक पर्ने आयोजना जनाएको छ ।