सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३७ जना कर्मचारीको करारमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनमा एक हजार दुई सय ५८ जनाले आवेदन दिएका छन् । मन्त्रालयले गत पुस २७ गते विभिन्न ११ समूहका करार सेवाका कर्मचारी पूर्तिका लागि खुला विज्ञापन प्रकाशित गरेको थियो ।
मन्त्रालयका अनुसार कृषि अर्थविज्ञ अधिकृत सातौं तहमा ३ जनाको माग गरिएकोमा २८, कृषि प्रसार अधिकृतमा ५ जना माग गरिएकोमा एक सय ६९, बाली विकास अधिकृतमा १ जनाको दरबन्दीमा १ सय ७६ जना, बाली संरक्षण अधिकृत सातौं तहमा ३ कोटामा २ सय २३ जनाले आवदेन दिएका छन् । त्यस्तै, पशु विकास अधिकृत सातौंमा २ कोटामा १७ जना, पशु चिकित्सक सातौं तहमा ४ जना माग गरिएकोमा १७ जनाले दरखास्त दिएका छन् ।
प्राविधिक सहायक पाँचौ तहको लागि ४ कोटामा ९९, प्राविधिक सहायक कृषि प्रसार पाँचौ तहको २ दरबन्दीमा एक सय, पशु सेवा प्राविधिक सहायक पाचौंमा १ जनाको दरबन्दीमा १६ जनाको दरखास्त परेको छ । कर्मचारी समायोजनमा निकै थोरै कर्मचारीले मात्रै कर्णाली प्रदेशमा समायोजन रोजेकाले सँधै कर्मचारी अभावमा काम गर्न समस्या परेको भन्दै कर्णाली प्रदेश सभाले पारित गरेको प्रदेश लोकसेवा सम्बन्धि कानून अनुसार प्रकासित गरेको विज्ञापन अनुसार पशु स्वास्थ्य प्राविधिकतर्फ सहायक पाँचौ (भेटेनरीतर्फ) ४ जनाको सिटमा २४ जनाले दरखास्त दिएका छन् ।
कृषि पढेको जनशक्ति बढ्दै जानु र रोजागरीको अवसर नपाएका कारण मन्त्रालयले खोलेको करार सिटमा आवेदन दिनेको संंख्या बढ्दै गएको मन्त्रालयका सूचना अधिकारी धनबहादुर कडायतले बताए । ‘हामीले खोलेको विज्ञापनले नेपालको पछिल्लो बेरोजगारी समस्या कस्तो रहेछ भन्ने देखाउँछ ।’ उनले भने, ‘कर्णालीमा पनि कृषि पढेको जनशक्ति छ भन्ने तत्थ्यलाई समेत यसले देखाउँछ ।’ प्राविधिक विषयका रुपमा चिनिने कृषि पढेको कर्णालीको जनशक्ति पनि ठूलो संख्यामा बेरोजगार छ भन्ने चित्र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करारमा कर्मचारी भर्ना सम्बन्धी सूचनामा आवेदन दिनेको संख्याले देखाएको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष शशीराम आचार्यले जानकारी दिए । युवाहरुले कृषि क्षेत्रमा अध्ययन गरेको ज्ञानलाई कृषि कर्ममा लगाएर सिकेको सीपलाई सदुपयोग गर्न कर्णाली प्रदेश सरकारले नयाँ कार्ययोजना तयार पार्नु पर्छ ।’ उनले भने, ‘एक गाउँ एक कृषि पकेट क्षेत्रको नीति लिएको सरकारले अब कृषि पढेका युवाहरुलाई अवसर दिनुपर्छ ।’
जेटिए पढेर तरकारी खेती
कालीकोट जिल्लाको रास्कोट नगरपालिका–फुकोटका २५ वर्षीया पुष्पराज बराल जेटिए अध्यायन गरेर गाउँमा नै तरकारी खेती गरिरहेका छन् । बरालले ७ वर्षअघि कृषि जेटिए पास गरेर घरमै तरकारी खेती गर्ने गरेका हुन् । जेटिए पास गरेर सरकारी जागिर खाने सपनाभन्दा कृषि पेशा गरेर राम्रो आम्दानी गर्न बरालले तरकारी खेती शुरु गरेका हुन् ।
कृषि जेटिए गरेर आफूले सरकारी जागिर खाए बराबरको पैसा कृषि पेशाबाट पनि आउन सक्छ भनेर तरकारी खेतीमा लागेको बरालले बताए । ‘कृषि जेटिए पदमा सरकारी जागिर खाएको भए वार्षिक ५ लाखभन्दा कम कमाई हुन्थ्यो होला ।’ उनले भने, ‘तर, अहिले वार्षिक ५ लाखभन्दा बढी कमाई गर्ने गरेको छु ।’
बरालले गाउँमा नै तरकारी उत्पादन गर्दै फलफूलका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेका छन् । तरकारी र नर्सरीबाट राम्रो आम्दानी हुने भएकाले आफूले कृषि पेशा अँगालेको उनी बताउँछन् ।
बरालले नर्सरीमा स्याउ र ओखरका बिरुवाहरु उत्पादन गर्ने र त्यसलाई विभिन्न ठाउँमा निर्यात गर्ने गरेको जानकारी दिए । ‘मैले उत्पादन गरेका स्याउ र ओखरका बिरुवाहरु अहिले बाहिरी जिल्लामा निर्यात गर्ने गरेको छु ।’ उनले थपे, ‘बिरुवाको माग अहिले निकै बढ्दो रहेको छ ।’ तर, तरकारी गाउँमा राम्रो उत्पादन हुने गरेको भए पनि बजारीकरणको समस्या रहेको उनले जानकारी दिए । ‘उनका अनुसार तरकारीको राम्रो उत्पादन हुने गरेको छ । तर, बजारीकरणको निकै समस्या रहेको छ । बरालले आफ्नो बारीमा विभिन्न फलफूलका बिरुवा समेत रोपेका छन् ।