हस्त बुढा
जुम्ला । जुम्लाको तातोपानी–२ की मायादेवी दमाई २/३ वर्ष अघिसम्म घरकै कामका मात्रै व्यस्त हुन्थिन् । उनलाई साँझ सुतिसकेपछि पनि भोलिपल्ट बिहान गर्ने कामको चिन्ता हुन्थ्यो । घरको आर्थिक पाटोका विषयमा कुनै चासो नै थिएन ।
किनकी उनलाई हिसाबहिताब कसरी गर्ने भन्नेबारे थाहै थिएन । उनी २०७३ सालमा चन्दननाथ सहकारीमा आवद्ध भएपछि भने उनका दिन फेरिएका छन् । दमाईले अहिले मासिक एक सय रूपैयाँ बचत गर्छिन् । समय बित्दै जाँदा सहकारीमार्फत धेरै पटक उनले तालिम पनि पाएकी छिन् । बचत गर्ने र घरायसी हिसाब किताब गर्ने बारेको तालिम लिए पछि उनलाई अहिले सहज भएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिका–६ की पार्वती महतारा पनि पहिले घरकै कामका व्यस्त हुन्थिन् । पछि दियालो सहकारीमा आवद्ध भएपछि अहिले व्यवसाय गरेर बसेकी छिन् । उनी निरक्षर भए पनि लाखौंको कारोबार गर्न सक्छिन् ।
पार्वती र मायादेवी उदाहरण मात्रै हुन् । सहकारीमा आवद्ध भएपछि वित्तीय पहुँचमा पुगेका महिला कर्णालीमा धेरै छन् । सहकारीले दिएको चेतना र नियमित वचत गर्ने प्रणालीले महिलाहरू वित्तीय पहुँचमा पुगेका हुन् । पहिले घरायसी काममा मात्र अल्मलिने महिलाहरू अहिले आर्थिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । सहकारीबाट ऋण लिएर कति महिलाले सिलाइकटाई गरेका छन् भने कतिले खुद्रा व्यवसाय गरी जिविका चलाइरहेका छन् ।
सहकारीले कर्णालीका महिलामा वित्तीय पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेलेको तातोपानीकी हिमा दमाईले बताइन् । ‘म अहिले सिलाइकटाई गरेर बसेकी छु,’ उनले भनिन्, ‘सजिलै आर्थिक कारोबार गर्न सक्ने भएकी छु ।’ कर्णालीका बस्ती बस्तीमा सहकारी पुगेका छन् ।
ऋण लेनदेनमा महिलाको विश्वास
जुम्लामा झन्डै एक दर्जन बढी सहकारी छन् । जसले वार्षिक करोडौंको कारोबार गरिरहेका छन् । प्रत्येक सहकारीमा कम्तिमा एक हजार महिला सहभागी छन् । महिलाहरूमार्फत प्रायः ऋण लेनदेनको प्रक्रिया चलिहेको छ । सहकारीलगायत अन्य वित्तीय संस्थाले पुरुषभन्दा महिलालाई बढी विश्वास गर्ने गरेका छन् । सहकारीमा आवद्ध महिला नै बढी वित्तीय पहुँचमा पुगेका छन् ।
चन्दननाथ नगरपालिका–१ की बास्मती नेपाली पनि दियालो सहकारीमा आवद्ध छिन् । उनी घरखर्च तथा कुनै कामका लागि ऋण चाहिए आफ्नो श्रीमानभन्दा आफूले नै ल्याउने गरेको बताइन् । कृषि विकास बैंक, निर्धर उत्थान, स्वावलम्बन, डिप्रोसलगायतका वित्तीय संस्थाले महिलालाई नै ऋण दिने गरेका छन् । निर्धन उत्थान वित्तीय संस्थाका अनुसार एक दिनमा कम्तिमा पनि १० जना महिलाले ऋण लिने गरेका छन् ।
पुरुषभन्दा महिला आर्थिक कारोबारमा इमान्दार हुने, भनेकै समयमा ऋण चुक्ता गर्ने गरेको डिप्रोस वित्तीय संस्थाकी विपना शाहीले बताइन् । सहकारीले महिलालाई वित्तीय कुरामा पोख्त बनाएपछि ऋण लगानी गर्ने संस्थाले महिलालाई नै बढी विश्वास गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार डिप्रोस वित्तीय संस्थाबाट झन्डै ८ सय बढी महिलाले ऋण लिएका छन् ।
कमाएर तिर्नुपर्ने दायित्व पुरुषको भए पनि ऋण दिने सवालमा महिलालाई नै विश्वास गर्ने वातावरण सहकारीले सिर्जना गरेको दियालो सहकारीका प्रमुख किशोर न्यौपानेले बताए । वचतसँगै, रूपैयाँ कसरी चलाउने, सानो पूँजीबाट पनि कसरी बढी आम्दानी गर्न सकिन्छ, भन्ने विषयमा सहकारीले सिकाउने गरेको उनले बताए ।
दियालोको ११औं साधारणसभा
जुम्लाको दियालो बहुउद्देश्यीय सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभामा सहभागी महिलाले आफ्नै दैनिकी परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । घरधन्दा चुलोचौकोमा सिमित महिलालाई वित्तीय पहुँचमा पु¥याउन सहकारीको ठूलो देन रहेको स्थानीय महिला काली रावलले बताइन् ।
सहकारी संस्थाका अध्यक्ष किशोर न्यौपानेले राज्यको नीति, ऐन, नियमको अधिनमा रहेर काम गर्दै आएको बताए । उनले संस्थाका सदस्यलाई वार्षिक साधारणसभामार्फत् शेयर सदस्यदेखि साधारण सदस्यलाई पूँजीका विषयमा जानकारी गराउँदै आएको जानकारी दिए ।
कार्यक्रममा नियमित वचत गर्ने, इमान्दारीपूर्वक ऋण चुक्ता गर्नेलगायतकालाई कदरपत्रसहित सम्मान गरिएको थियो । यो सहकारीमा ६ सय सेयर सदस्य र २ हजार ४ सय बढी साधारण सदस्य रहेका छन् ।