सुर्खेत । कर्णालीका भर्खरै ट्रयाक खुलेका सडकहरुमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन् । कर्णाली राजमार्ग, कर्णाली करिडोर र भेरी करिडोरमा यात्रुहरुबाट यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेका हुन् ।
कर्णाली राजमार्गको कालीकोट सडक खण्डको शुभकालिका गाउँपालिका–१ हुल्मदेखि खाँडाचक्र नगरपालिका–५ को मान्मसम्म सवारी साधनले दोब्बर भाडा असुल्ने गरेका छन् ।
कर्णाली करिडोरको कालीकोटको लालीघाटदेखि बाजुराको पिलिचौरसम्म पनि दोब्बर भाडा असुल्ने गरेका छन् । त्यस्तै, भेरी करिडोरको जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको सडकमा चर्को भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो रहेको छ ।
कर्णाली करिडोरअन्तर्गतको कालीकोटको शुभकालिका–१ हुलदेखि सदरमुकाम मान्मसम्मको यातायात व्यवस्था विभागले १४ किलोमिटर सडकमा भाडा दर ७० रुपैयाँ तोकेको भए पनि यात्रुहरुबाट सवारी साधनले एक सय ५० रुपैयाँसम्म असुल्ने गरेका छन् ।
यात्रुहरुबाट चर्को भाडा असुल्ने गरेको त्यसको विरोध गर्दा सार्वजनिक सवारीमा चालक र सहचालकमार्फत यात्रुमाथि हुने दुव्र्यबहार र गाली गर्ने गरेको स्थानीय प्रदीप बोहराले बताए । ‘सार्वजनिक यातायातमा भाडा बढी असुल्न पाइदैँन भन्दा ममाथि आक्रमण नै भयो ।’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय र ट्राफिकलाई यो विषयमा गुनासो गर्दा सुनुवाइ हँुदैंन ।’
बढी भाडा असुलेको विषयमा जिल्ला ट्राफिक कार्यालयमा जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको बोहराले बताए । ‘जिल्ला प्रहरी कार्यालयले नै गाडीलाई कुनै कारबाही गरेन ।’ उनले भने, ‘अन्यायमा परेका यात्रुले कहाँबाट न्याय पाउने ?’ भेरी करिडोर अन्तर्गतको जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको ९० किलोमिटर यात्रा गर्दा एउटा यात्रुले दुई हजार पाँच सयसम्म तिर्नुपर्छ ।
सरकारले नेपालगन्जबाट डोल्पासम्म सडक सञ्जाल विस्तार गरे पनि बाटोमा बनिरहेको पुलका कारण यात्रीहरूले सास्ती भोगिरहेका छन् । तल्लुबाट डोल्पासम्म पुग्न अहिले सात ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ । प्रत्येक ठाउँमा गाडी परिवर्तन गर्दा चालकले मनपरी भाडा लिने गर्छन् । डोल्पाका रक्तिम लामाका अनुसार तल्लुदेखि करपगारसम्म ६ सय, करपगारदेखि खदाङसम्म दुई सय, खदाङदेखि त्रिपुराकोटसम्म चार सय, सुलिगारदेखि जुफालसम्म चार सय भाडा तिरेको लामाले बताए ।
‘भौगोलक विकटता छ । गाडी चलाउन सहज छैन । तर विकटता छ भन्दैमा यसको फाइदा उठाउँदै मनपरी व्यापार गर्न पाइँदैन,’ विकटताका नाममा ठगी भइरहेको गुनासो गर्दै देवेन्द्रले भने, ‘गाडी कसले चढ्छ ? निम्न वर्गले गाडी चढ्छन् । तर यहाँ त विकटताको नाममा व्यापार गरिरहेका छन् केही व्यापारीले । यसमा सरकारले ध्यान दिएको छैन ।’
त्यस्तै, कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोटको जितेगडादेखि बाजुराको पिलुचौरसम्मको ६५ किलोमिटर सडकमा चल्ने सार्वजनिक सवारी साधनले मनमानी भाडा असुल्ने गरेका छन् । ६५ किलोमिटरको सडक खण्डमा एक हजार ५ सय भाडा लिने गरेको छन् ।
सुर्खेतदेखि कालीकोटको जितेगडासम्म १ सय १८ किलोमिटर यात्रा गर्दा सात सय रुपैयाँ मात्रै भाडा तिर्नुपर्छ । कच्ची बाटोका नाममा छोटो दुरीमै जिपहरुले खुलेयाम रकम असुल्ने गरेका छन् । सुर्खेतदेखि कालीकोटको जितेगडासम्म जम्मा ७ सय रुपैयाँमा आए पनि ६५ किलोमिटरको दुरीमा १ हजार ५ सय रुपैयाँ तिर्नुपरेको मुगु खत्याड गाउँपालिका– ४ की सरस्वती रोकायाले गुनासो गरिन् ।
टिकटमा कम लेख्ने तर बढी तिर्नुपर्ने बाध्यता छ । सुर्खेतबाट घर फर्किंदा जिपहरुले महंगो भाडा लिएपछि भोकै बस्नु परेको मुगु खत्याड गाउँपालिका ४ की पुजना सार्कीले गुनासो गरिन् । ‘कर्णाली करिडोरमा मनपरी भाडा असुली गरे पनि प्रहरी भने रमिते बनेको छ ।’ उनले भनिन्, ‘सर्वसाधारणलाई अप्ठयारो पर्दा पनि प्रहरीले केही वास्ता नगरेको यात्रुहरुको गुनासो छ ।’
स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाबीच सहमति गरेर कर्णाली करिडोरमा प्रतिकिमी ११ रुपैयाँ लिने निर्णय भएको थियो । यसका आधारमा जितेगडादेखि पिलुचौरसम्मको भाडा दर ७ सय १५ रुपैयाँ हुन्छ । तर, व्यवसायीले निर्धारित भाडाभन्दा दोब्बर रकम असुल्दैं आएका छन् ।