प्रकाश सिलवाल
काठमाडौं । शल्यक्रिया कक्षमा चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा ब्यस्त भएको बेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा उनका शुभेच्छुक प्रत्यारोपण सफलताको कामना गरिरहेका थिए ।
स्वदेशी अस्पतालमा नेपाली अनुभवी चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको मिर्गौला प्रत्यारोपण गरेको यो विशेष क्षणलाई स्वदेश र विदेशबाट समेत चासो र प्रतीक्षाका साथ हेरिएका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको चिकित्सक टोलीबाट जानकारी आएपछि अस्पताल परिसरमा उपस्थित मन्त्रीगण, नेता, कार्यकर्ता र समर्थकको अुनहारमा बेग्लै खुशी छाएको थियो । शुभेच्छुकले प्रधानमन्त्री ओलीको तस्वीर र राष्ट्रिय झण्डा अङ्कित ब्यानर र पोष्टरमा ‘गेट वेल सुन’ लेखेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेललगायत मन्त्रीगण पुगेका थिए । बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण दिउँसो ३ बजे सकिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई चिकित्सकसँग सम्पर्क गराउँदै सुखद् समाचारको सङ्केत दिइसकेका थिए । अस्पतालका तर्फबाट औपचारिक जानकारी दिइएसँगै यो सुखद् खबर करिब ४ बजे सञ्चारकर्मीलाई प्राप्त भएको थियो । सञ्चारकर्मी आफ्नाआफ्ना सञ्चारमाध्यममा ‘समाचार ब्रेक’ गर्न व्यस्त भएका थिए भने उपस्थित मन्त्रीगण, नेता, कार्यकर्ता र समर्थक एकापसमा बधाई साटासाट गरिरहेका थिए । प्रधानमन्त्री ओली स्वयम्ले दह्रो आत्मबल र आत्मविश्वासका साथ भिडियो सन्देश दिएर अस्पताल भर्ना भएको भए पनि उनको उमेरगत अवस्था र दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भएकाले कतै जोखिम हुने त होइन भन्ने सन्देहलाई सफल प्रत्यारोपणले सुखद् जवाफ दिएको छ ।
यसले नेपालको अस्पताल चिकित्सक टोली विशिष्ट व्यक्तिको जटिल शल्यक्रिया गर्न/गराउन सक्षम रहेको भन्ने स्पष्ट सन्देश दिएको छ । नेकपाका सांसद पूर्णाकुमारी सुवेदीले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैलाई चिन्ता र चासोको विषय रहेकाले यहीँकै चिकित्सकले सफलतापूर्वक सम्पन्न गरेकामा खुशी लागेको बताइन् । अस्पतालका अनुसार प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिएको थियो । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
कार्यकारी निर्देशक प्राडा खड्गाले मिर्गौलाको शल्यक्रियापछि सङ्क्रमणबाट जोगाउनका लागि आइसोलेशन (एक्लाएर) मा राखिएको जानकारी दिए । ‘अंगमा सङ्क्रमण नहुनका लागि औषधि शुरु गरिएको छ । सकेसम्म मान्छेको भीडबाट टाढा राखिएको छ, बिहीबार चिकित्सकले स्थिति हेरेर अन्य उपचारका काम गर्नेछन्’, उनले भने, ‘अहिले उनलाई अति सघन कक्षमा सारिएको छ, उहाँ कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्न, होस भने खुलेको छ तर उहाँलाई सेडिक्सनमा रहेकाले उहाँ अहिले बोल्नुहुन्न, सम्भवतः बिहीबारदेखि बोल्न थाल्नुहुनेछ ।’ प्रधानमन्त्री ओली पाँच÷छ दिन अस्पतालमा रहने र १०–१५ दिनपछि नियमित काम गर्नसक्ने डा. खड्गाले बताए । हाल मिर्गौला प्रत्यारोपण गर्ने टोलीबाहेक अरुलाई ५–६ दिनसम्म भेट्न दिइने छैन ।