आश्विन १३, सुर्खेत । छिमेकी मुलुक चिन कर्णाली प्रदेशको विकासमा चासो व्यक्त गरेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
कर्णाली प्रदेश चिनसँग भुगोल जोडिएको छिमेकी भएको बताएका मुख्यमन्त्री शाहीले भने, “चिन सरकार विकासको लगानी गर्न निकै इच्छुक छ ।”
चीन भ्रमणबाट फर्केपछि सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले आफ्नो भ्रमण कर्णाली प्रदेशको विकासका लागि कोशेढुंगा भएको दावी गरे । चीन सरकार कर्णालीको विकासमा निकै इच्छुक रहेको बताएका शाहीले भने ‘नेपालको संविधानअनुसार प्रदेश सरकारले अर्को देशसँग प्रत्यक्ष रुपमा कुनै पनि सहमति–सम्झौता गर्न मिल्दैन,’ ‘तर हामीले भ्रमणको क्रममा संघीय सरकारमार्फत चीन सरकारलाई कर्णालीमा आउने प्रशस्त वातावरण बनाएका छौं ।’
भ्रमणका क्रममा चिनियाँ पक्षसँग कर्णाली प्रदेशमा पर्ने हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणको लागि प्रारम्भिक समझदारी भएको उनले बताए । चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग कर्णाली प्रदेशको ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भेका लागि समझदारी भएको बताएका शाहीले कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलको स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनिया पक्षले सहयोगको प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
भौगोलिक विकटा भएको कर्णाली प्रदेशको आवत जावतका लागि प्रदेश सरकारले अघि बढाएको ‘कर्णाली एयर’ नामक हवाई जहाज सञ्चालन गर्ने सोच बनाएको बताएका मुख्यमन्त्री शाहीले उक्त जहाज खरिद गर्न चीन सरकारसँग सहुलियत ऋणबारे छलफल भएको पनि जानकारी दिए । ‘कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानकन लागि कम्तिमा दुईवटा विमान खरीद गर्ने योजना बनाएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘यो प्रक्रियामा हामीले चीन सरकारसँगको वार्तामा गरिएको ऋण सहयोगको अपेक्षालाई चिन सरकारले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
कर्णाली प्रदेशमा लगानी आकर्षित गर्न सरकारले घोषणा गरेको ट्याक्स फ्रि (कर मिनाह) योजनाप्रति समेत चीन सरकार सकरात्मक भएको बताएका मुख्यमन्त्री शाहीले भौगोलिक विषमताको कर्णाली प्रदेशमा लगानी गर्न चिनिया पक्ष उत्साहित भएको जानकारी दिए ।
चिनको सिचुवान प्रान्तका गभर्नर यीनलीको निमन्त्रणमा मुख्यमन्त्री शाही तीन सदस्यीय टोलीसहित गएको असोज ३ गते चीन गएका थिए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी टोलीले सिचुवानमा आयोजित १७ औंं वेस्टर्न चाइना इन्टरनेशनल फायर बेल्ट एण्ड रोड डेभ्लप्मेन्ट कन्फरेन्समा सहभागीता जनाएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।