काठमाडौं । शुक्रबार दिउँसो पोखरामा भारतबाट आएका एक व्यक्तिमा कोरोनाा भाइरसको संक्रमण देखिएको खबरले केहीबेर सनसनी नै मच्चायो । आमजनमानसमा ‘ओ हो, अर्को संक्रमित नि थपिएछ’ भन्ने भयो ।
केही दिनअघि मात्र संघीय सरकारले पठाएको कोरोना भाइरस संक्रमण जाँच गर्ने मेसिनमा परीक्षण थालिएको थियो । सोही परीक्षणका क्रममा पोखरामा जाँच गर्दा भारतबाट आएका ती व्यक्तिमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखायो । सो कुरा गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिएका थिए ।
ती मन्त्रीले यहाँ प्रारम्भिक परीक्षण भन्दै काठमाडौंमा रहेको ल्याब परीक्षणको रिपोर्ट नै अन्तिम हुने बताएका थिए ।
दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पोखरामा संक्रमित देखिएको भनिएकोको रिपोर्ट ‘नेगेटिभ’ देखिएको बताए ।
प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नयाँ मेसिनहरु राखिएकाले कुनै शंकास्पद केश भएमा त्यसको पुनः परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने प्रवक्ता देवकोटाले उल्लेख गरे ।
उनले भने, “अहिले पोखराको हालसम्म कुनैपनि पोजेटिभ केस छैन । अहिले हामीले प्रदेशमा विस्तार गर्यौ । प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । संख्या यथेष्ट रुपमा गरेर पोजेटिभ नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाई भयो भने यो सिस्टम ठिक छ भनेर भन्न सकिन्छ । यो नर्मल फेनोमेना हो । भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेण्टहरु मिल्ने कुराहरुलाई हेर्दा केही नमुनाहरु चाहीँ हामीले ‘रि’ गर्नुपर्ने हुन्छ । हाम्रो नतिजा कंक्रिड होस् भन्नका लागि हो । यो सधैभरी गर्नुपर्दैन । केही समयका लागि हुन्छ । । कुनै केस शंकास्पद भयो भने त्यहाँ पनि हुन्छ यहाँ पनि रिपिट हुन्छ । थप नमुना लिईन्छ । यो प्रोसेस भईसकेपछि मात्रै हामीले रिजल्ट प्रकाशित गर्छौ त्यो हिसाबले आजसम्म हालसम्म पोखरामा पोजेटिभ नआएको स्थिति छ ।”
पोखरामा एकपटक मात्र नभई बारम्बार परीक्षण गर्दा पनि पोजेटिभ देखिएको ती मन्त्रीले बताएका थिए ।
हुन पनि प्रदेश सरकारको वेबसाइटमै सातौं संक्रमित फेला परेको जानकारी गराएका थिए । संघीय सरकारको स्वास्थ्य मन्त्रालयको साइटमा छ जना संक्रमित देखिएपनि प्रदेश सरकारको साइटमाा भने सात जना भनेर उल्लेख गरेका थिए ।
तर, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पोजेटिभ रिपोर्ट नआएको जानकारी दिए ।
नेगेटिभ रिपोर्ट आउनु सुखद पक्ष हो । तर, गम्भीर प्रश्न खडा भएका छन् । परीक्षण गर्दा देखिएको रिपोर्ट प्रदेशले एकथरि देख्ने र संघीय आँखाले अर्कोथरी देख्नुले जनमानसमा शंका उब्जाएको छ । पोखराकै वरिष्ठ पत्रकार गंगाधर पराजुलीले फेसबुकमा लेखेका छन्, ‘सबैको दवावपछि गण्डकी प्रदेशमा कोरोना भाईरस परीक्षण गर्ने मेशिन त आयो तर मेशिन बिग्रेको वा जनशक्ति दक्ष नभएको रु रिपोर्ट सही आएन भन्ने छ है ।’