हुम्ला । कोरोना भाइरस (कोभिड ११९) लाई थप संक्रमित हुन नदिन सरकारले लकडाउन (बन्दाबन्दी) को अवधी लम्बीने भएपछि अदानचुली गाउँपालिकाले बाहिर रहेका आप्mना नागरिकलाई उद्धार गरेर घर ल्याउने भएको छ ।
अध्ययन, उपचार, रोजागारी तथा अन्य विभिन्न कामको सिलसिलामा गाउँपालिका बाहिर भएका नागरिकहरुलाई गाउँपालिकाकै खर्चमा उद्धार गरेर ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । उनका अनुसार आज (सोमबार) बसेको गाउँ कार्यपालिकाको बैठकले विभिन्न स्थानमा अल्झिएर रहेका नागरिकलाई गाउँपालिकाकै खर्चमा घर फर्काएर ल्याउने निर्णय गरेको ।
'हामीले घर आउन चाहने पालिकाका नागरिकलाई उद्धार गरेर ल्याउने निर्णय गरेका छौं ।' अध्यक्ष फडेराले नेपालबोटसँग भने, 'विविध कारण गाउँ फर्किन नचाहने तर गाउँपालिका भन्दा बाहिर रहेका नागरिकलाई अवस्था हेरेर प्रतिव्यक्ति दुई हजारसम्म राहत उपलब्ध गराउने निर्णय कार्यपालिकाले गरेको छ ।'
विश्वलाई आक्रान्त पारेको कोभिड १९ को संक्रमण फैलिन नदिन गएको चैत ११ गते देखि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) का कारण ठूलो संख्यामा गाउँपालिकाका नागरिक देशका विभिन्न ठाउँमा अल्झीएको बताएका अध्यक्ष फडेराले उनीहरुलाई घर पुर्याउने उद्देश्यले गाउँपालिकाले यस्तो निर्णय गरेको हो । सुर्खेत, नेपालगञ्ज, काठमाडौं, बर्दियालगायतका विभिन्न शहर र छिमेकी मुलुक भारतमा रहेका गाउँपालिकाका नागरिकहरुको विवरण संकलन गर्ने काम अन्तिम चरणमा पुगेको बताएका फडेराले गृह मन्त्रालय र प्रदेशसँगको समन्वयमा केही दिनमा देशका विभिन्न स्थानबाट आफ्ना नागरिकलाई गाउँ ल्याउने काम शुरु गरिने जानकारी दिए । उद्धार गरेर गाउँ ल्याइएका नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार सम्बन्धित वडामा स्थापना गरिएका क्वारेष्ण्टिनमा राखिने जानकारी उनले दिए ।
उद्धार पछि राहत वितरण
घर आउने नागरिकको उद्धार गर्ने काम सकिए पश्चात गाउँपालिकाले घर बाहिर भएका नागरिकहरुका लागि राहत वितरण गर्ने गाउँपालिकाले जनाएको छ । 'शुरुमा हामीले घर फर्केन चाहने तर पास नपाएर विभिन्न स्थानमा अलपत्र अवस्थामा भएका नागरिकलाई उद्धार गरेर ल्याउने काममा लाग्ने छौं', गाउँ कार्यपालिका बैठकले गरेका निर्णयका बारेमा जानकारी दिदैं अध्यक्ष फडेराले भने, 'त्यसपछि हामीले आप्mनो काम विषेशले घर नआएका नागरिकहरुको लगत संकलन गर्ने छ । र सोही अनुसार राहतका वितरण गर्नेछ ।'
गाउँपालिकाले संकलन गरेको प्रारम्भीक विवरण अनुसार वडा नम्बर १ का तीन सय २१, २ का दुई सय ५९, ३ का तीन सय पाँच, ४ का एक सय ८, ५ का दुई सय ६५ र ६ नम्बर वडाका एक सय १५ जना नागरिक घर बाहिर छन् । देशका विभिन्न शहर र भारतमा गरेर झण्डै एक हजार चार सयको संख्यामा अदानचुली गाउँपालिकाका नागरिक घरभन्दा भन्दा बाहिर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याँकुरेलले जानकारी दिए ।