काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।
कैलालीका कोरोना संक्रमित एक पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएपछि नेपालमा संक्रमित हुनेको संख्या २८ पुगेको हो ।
कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो।
असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। उनी फोक्सोको क्यान्सरका बिरामी रहेको बुझिएको छ।
आज दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको एक जना महिलाको मृत्युको कारण कोरोना भएको पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
विगत २४ घण्टामा नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यीमध्ये १ सय ७ महिला हुन् भने बाँकी ४ सय ८६ जना पुरुष हुन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका समान २५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका समान १२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
यस्तै सुनसरीका १०, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका समान ६ जना, दैलेखका ५, झापा र महोत्तरीका समान ४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका समान ३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका समान २ जनामा कोरोना पाईएको छ ।
अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक एक जनामा सङ्क्रमण देखिएको छ ।
आज थपिएका सहित नेपालमा सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ जना पुगेको छ । प्रवक्ता डा। गौतमका अनुसार देशका ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । आज थप ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।