काठमाडौं। आज देशका अधिकांश क्षेत्रमा मेघगर्जन हुने मौशम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज हुने वर्ष चट्याङसहित हल्कादेखि मध्यम खालको भएको महाशाखाले पुर्वानुमान गरेको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरूमा भने भारी वर्षा हुनेछ।
‘देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ,” मौसम विभागद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तसर्थ, ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”
भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
पर्सि, १६ असारमा देशका अधिकांश भू–भागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।