काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र चरम विवाद छताछुल्ल पोखिएको छ ।
दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्रको विभाजनको रेखा गाढा हुन थालेको हो । दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गरेका हुन् ।
अर्का अध्यक्षले एक पक्षीय बैठक गरेर विधी अनुसार चल्न उनै अध्यक्षलाई निर्देशन दिए । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी कमिटीको बैठक स्थगित भएको सूचना जारी भएपछि अर्का अध्यक्ष प्रचण्डले बरिष्ष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक गरे । त्यही बैठकले पार्टी दुई चिरामा विधिवत् रुपमा उभिएको देखिएको छ ।
प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि हिजो अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको छ ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए बरु विभाजन नै रोज्ने संकेत पटकपटक देखाइसकेका छन् । नेकपाका नेपालपक्षका एक स्थायी समिति सदस्य भन्नुहुन्छ, – ‘अब प्रधानमन्त्री चट्टानी अडानमा रहेपछि पार्टी जोगाउन कसले धेरै सम्झौता गर्ने भन्ने सवाल आएको छ । नभए पार्टी एकता जोगिने अवस्था छैन ।’
फेरीे वामदेव तरङ्ग शुरु
असारको पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने लहरका शसक्त पात्रका रुपमा रहेका बामदेव गौतमले फेरी एक पटक पार्टी भित्र तरंग फैलाएका छन् ।
असारमा पार्टी अध्यक्ष समेत रहेका प्धानमन्त्री ओलीसँगको सम्बन्धलाई केही टाढा देखाएका गौतम अर्का अध्यक्ष प्रचण्ड नेपालसँगै उभिएपछि प्रधानमन्त्री ओलीमाथिको संकट पेचिलो बनेको थियो । तर, उपाध्यक्ष गौतमले ६ बुँदे मध्यमार्गी प्रस्तावसहित ओलीकै पक्षमा उभिएपछि नेकपामा फेरि तरङ्ग निम्त्याएको छ । ओलीलाई प्रधानमन्त्री पूरा कार्यकाल र अध्यक्ष महाधिवेशनसम्म रहन दिने प्रस्ताव आएको छ ।
दिउँसो गौतमको प्रस्तावपछि साँझ प्रधानमन्त्री ओली बालुटारको ढोका नाघेर गौतम निवास भैसेपाटीमा पुगे । दुईघण्टा लामो पारिवारीक छलफलपछि ओली गौतम एक भएको सन्देशदिनेगरिका तस्बिर सार्वजनिक भएका छन् । अब प्रचण्ड नेपाल पक्षलाई सबै विवाद छाडेर छिटो महाधिवेशनसम्म पुग्नुपर्ने दवाव बढेको छ । गौतमको प्रस्तावसँगै नेकपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको देखिन्छ । रामबहादुर थापाको पनि गौतमको जस्तै चाहना रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । स्थायी कमिटी ओलीको विपक्षमा भएपनि सचिवालयमा ओलीको दुवै पद कायम राखेर अघि बढ्नुपर्ने पक्षमा बहुमत देखिएको छ ।