भाद्र १६, सुर्खेत । कर्णाली प्रदेशको एकिकृत विकासका लागि कर्णाली प्रदेशले विज्ञ समुह गठन गरेको छ ।
आज शनिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशको एकिकृत विकासको सल्लाह दिने उक्त समुह गठन गरेको हो । समुहमा जनार्दन शर्मा, वालानन्द शर्मा, डा सुरेश तिवारी, डा. पुन्य रेग्मी, डा. कृण्ण प्रसाद पौडेल, सुरेन्द्र विक्रम शाह, मुक्ती प्रधान, डा. पदम शाही, डा. कुसेन्द्र महत, गोविन्द वन्दीको नाम समावशे गरिएको कर्णाली प्रदेशका मूख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व विक्रम बुढाथोकीले जानकारी दिए । बैठकले आवश्यक्ता अनुशार समुहमा सदस्यको नाम थप्दै जाने बताइएको छ ।
यसैगरी बैठकले कर्णाली प्रदेश मुद्रण सम्वन्धी विधेयक २०७५ तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमती प्रदान गरिएको छ । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश उद्धार तथा राहत कोष संचालन निर्देशिका, २०७५ लाई स्वीकृत प्रदान गरेको छ ।
कर्णाली प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन्, क्रसिङ्ग विक्री वितरण तथा क्रसर उधोग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधी २०७५ लाई स्वीकृती प्रदान गरेको कर्णाली प्रदेशका प्रवक्ता एवम् माननीय भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
बैठकले प्रदेश सरकारको सार्वजनिक निर्माण र परामर्श सम्बन्धि काम संक्षिप्त कार्यविधिबाट गर्ने निर्णय गरेको छ ।