महेश कार्की कोल्टी (बाजुरा) । कोराना रोकथाम तथा नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनले बाजुराका हलिया समुदायमा खाद्यान्न अभाव भएको छ ।
एकातिर कामै नपाउने अर्कोतिर महङ्गी । बुढीनन्दा नगरपालिका वडा नम्बर एकका एकसय २४ परिवारलार्ई छाक टार्न धौ धौ भएको छ ।
बाजुरामा लकडाउन भएपछि ज्याला मजदुरीको काम नपाइएको र यसले गर्दा बिहान बेलुकाको छाक टार्न समस्या भएको हलिया समुदायका व्यक्तिहरू बताए । स्थानीय अमृता सार्कीले रुँदै भन्नुभयो, ‘खेताला लाग्दा खाना थियो तर अहिले खाने चारो छैन ।
नुन किन्यो तेल छैन, तेल किन्यो नुन छैन । हामीले कसरी पालिने ?’ कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् । विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् ।
बुढीनन्दा नगरपालिका वडा नम्बर एकका सरि ल्वारले भने, ‘हाम्रो घरमा खाने चारो छैन, केही छैन । श्रीमान् बाहिर जानुहुन्थ्यो कमाएर ल्याउनुहुन्थ्यो, त्यही खान्थ्यौं । त्यो पनि अहिले छैन । काम गरेर खान्थ्यौं, यो लकडाउनले काम पनि छैन ।’
साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको हिक्मत वड बताउँछन् । वडले भने, ‘अर्काको हलो बाहेर खाने हलिया हौं ।
राहतको नाममा एक एक कट्टा चामल पाए, १३ जना घरपरिवार । निम्न हलियावस्तीलाई छुटाइएको छ राहतमा पनि नगरपालिका, संघसंस्थाबाट । कहीकतैबाट मजदूरी गरेर, सापट/पैंचो मागेर ल्याइएको ऋणबाट पनि बजार जाँदा चामल किन्न पाइएको छैन । पाइहालेमा पनि ४० केजीको ४ हजार/४५ सय हातमा दिंदा पनि व्यापारिले दिएको छैन ।’ वडा नम्बर १ मा बसोबास गर्ने एकसय २४ परिवार सहजै काम पाउने दिनको प्रतिक्षामा छन् ।