काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनका आधारमा शुक्रबार बस्ने स्थायी समितिमा पेश गर्ने कार्ययोजना तयार पारेका छन्।
पार्टीभित्र देखिएको विवाद समधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावलाई नै मुख्य आधार बनाउँदै ओली र दाहालले स्थायी समितिमा पेश गर्ने प्रस्ताव तयार पारेका हुन्।
प्रस्तावमा यसअघि कार्यदलको प्रतिवेदनमा उल्लेख भए जस्तै संसदको यो कार्यकाल भर ओली प्रधानमन्त्री नै रहने र उनी सरकारको काममा केन्द्रित रहने उल्लेख छ। त्यस्तै अर्का अध्यक्ष दाहाल पार्टीको काममा केद्रित रहने प्रस्ताव गरिएको छ।
१५ पृष्ठको १५ बुँदामा समेटिएको प्रस्तावमा असोज महिनाभित्र पार्टी एकताको कामलाई पूर्णता दिने उल्लेख छ।
केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटव्यूरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने।
त्यस्तै पार्टीको एकताको महाधिवेशन यसअघि तोकिएकै समय आउँदो चैत २५ देखि ३० गर्ने उल्लेख छ। त्यस्तै प्रस्तावमा कार्यदलले दिएको सुझाव जस्तै एमसिसीलाई पार्टीका थप छलफल गरेर आवश्यक परिमार्जनसहित संसदबाट पारित गराउने उल्लेख छ।
कार्ययोजनामा मन्त्री परिषद पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी गर्ने उल्लेख छ।
ओली दाहालले तयार पारेको प्रतिवेदन हेर्न यो लिंकमा क्लिक गर्नुहोस्