सर्केगाड (हुम्ला) । जिल्लाको मध्ये क्षेत्रको सर्केगाड गाउँपालिकाले दोस्रो कृषि मेला प्रदर्शनको आयोजना गरेको छ ।
महिला कल्याण सेवा (wws) को सहजीकरणमा गाउँपालिकाले आयोजना गरेको प्रर्दशनीमा सर्केगाड गाउँपालिकाका १ सय ४० भन्दा बढी कृषकहरुले आफुले गरेको उत्पादनहरुको प्रदशन गरेका छन् ।
स्थानीय स्तरका कृषकले उत्पादन गर्ने २३ वटा बालीलाई प्रदर्शनमा राख्ने निर्णइ भएपनि मेलामा कृषकले ल्याएका ३२ वटा उत्पादनहरुको प्रदर्शनमा सहभागि गरिएको महिला कल्याण सेवाका कार्यक्रम संयोजक पदमराज हमालले जानकारी दिए ।
आठ वडा भएको गाउँपालिकाले अघिल्लो आर्थिक वर्षबाट सुरु गरेको कृषि प्रदर्शनीमा कृषकले उत्पादन गरेका बालीनालीलाई प्रोत्साहन स्वरुप हरेक वर्ष यसलाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए ।
हिमज्योती माध्यामिक विद्यालयमा गरीएको प्रदर्शनीको अनुगमन गर्दै अध्यक्ष रोकायाले गाउँपालिका भरका नागरीकहरुले आफू र आफ्नो घर परिवार सहित गाउँपालिकाका नागरीकहरुलाई समेत पुग्ने गरी उत्पादन गर्न अनुरोध गर्दै उत्पादित वस्तुको बजारीकरण गर्न गाउँपालिका पहल गर्नेमा जोड दिए । मेलामा सहभागि भएका स्थानीय कृषकले मेलाको आयोजना गर्नुभन्दा आफूहरुलाई मल र बिउ बितरण गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनीमा स्याउ, पिण्डालु, आरु, चिचिण्डा, टमाटर, काउली, खुर्सानी, भण्टा, मकै, धान, उखु सिमि, केराउ, फापर, मास्र्या, बन्दा,ओखर, फर्सि, बेसार, तितेकरेला, मुला, काक्रो, आलु र सखरखण्ड राखीएका थिए । प्रदनिमा राखीएको प्रत्येक बालीको प्रथम द्धितिय र तृतिय छुट्याई गाउँपालिकाले पुरस्कार समेत प्रदान गरेको छ भने अरु सहभागी सबैलाई सम्मान स्वरुप प्रमाण पत्र र पुरस्कारको ब्यबस्था गरेकोे थियो ।
प्रदर्शनी राखीएका सम्पुर्ण बालीहरु मध्ये ३ जनालाई सर्बकृष्ट छनौट गरीएको छ सर्बोकृष्ट हुँनेमा जसपुरी थापा (मास्र्या), हिरकला शाही (पिण्डालु) र गहिदेब फडेर (स्याउ)मा छनौट भएका छन् । उत्कृष्ट उत्पादनलाई कार्यक्रममा प्रमाण पत्र र पुरस्कारले सम्मान गरेको छ ।
उक्त प्रदशनीको गाउँपालिकाका अध्यक्ष, पाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानिय नागरीकहरुले पनि अनुगमन गरेका छन् ।