कार्तिक १३, काठमाडौँ — अस्वस्थ भएर अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने बताएका छन् । अस्पतालबाट देशवासीका नाममा सन्देश जारी गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।
सन्देशमा ओलीले समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
ुचिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु ओलीद्धारा जारी सन्देशमा भनिएको छ, "तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।'
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, "विगतमाझैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।'
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यकाबारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह पनि गरेका छन्। सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छु सन्देशमा भनिएको छ, "यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।'
मौसमी रुखाखोकी र छाती संक्रमण देखिएपछि प्रधानमन्त्री ओली सोमबार बिहान साढे ४ बजे त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
आफ्नो स्वास्थ्यकाबारे चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका छन् ।