कार्तिक १६, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले दुई तिहाई बहुमतको नेकपाको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।
वर्तमान सरकारले जनताको हित अनुकारको काम नगरेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।
शुक्रबार (आज) काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णरुपमा असफल भएको निश्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।
निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गर्नुपरेको पार्टीका संयोजक डा. भट्टराईले बताए ।
बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनसर्ंरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए ।
नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ ।
राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान संचालन गर्न लागिएको संयोजक भट्टराईले बताए ।
यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ ।