राजु बास्कोटा
काठमाडौं । कोरोना संक्रमण महामारीका कारण विदेशी पर्यटकको आगमन ठप्प रहेको बेला हेलिकप्टर कम्पनीहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी टूर प्याकेज ल्याएका छन्।
केही वर्ष अगाडिसम्म विदेशी पर्यटक र उच्च वर्गका व्यक्तिले मात्रै चढ्ने विलासिताको साधन मानिन्थ्यो हेलिकप्टर। सर्वसाधारणका लागि स्वास्थ्य उपचार लगायत आपतकालीन र आकस्मिक प्रयोजनमा मात्र हेलिकप्टरको प्रयोग हुँदै आएको छ। तर, पछिल्लो समय सर्वसाधारण नेपालीको पहुँचमा पनि हेलिकप्टर पर्न थालेको छ।
यही बढ्दो पहुँच देखेर निजी क्षेत्रका हेलिकप्टर सेवा प्रदायकले सर्वसाधारण यात्रुलाई आकर्षित गर्न प्याकेज ल्याउन थालेका छन्। हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेल हेलिकप्टर सेवा प्रदायकले आकस्मिक प्रयोजनमा मात्रै नभई मनोरञ्जनको साधनको रूपमा हेलिकप्टर प्रयोग गर्न सक्ने बनाउँदै लगेको बताउँछन्। उनी भन्छन्, “नेपाली ग्राहकलाई समय अनुसार सेवा दिन हेलिकप्टरले आकर्षक प्याकेज बनाएका हुन्।”
कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बल्ल उठ्ने सुरसारमा छ। कोरोना जोखिम रोकथामका लागि बन्द गरिएको हवाई क्षेत्र ६ महीनापछि खुला भए पनि पर्यटक आगमन ठप्प भएको र आन्तरिक गतिविधि पनि चलायमान नहुँदा हेलिकप्टर व्यवसाय अझै तंग्रिन सकेको छैन।
हेलिकप्टर सोसाइटी अफ नेपालको तथ्यांक अनुसार, नेपालमा १० वटा कम्पनीका ३४ वटा हेलिकप्टर छन्। त्यसमध्ये १२ वटा मात्रै उडानमा छन् भने बाँकी २२ वटा हेलिकप्टर काम नपाएर थन्किएको सोसाइटीका महासचिव तथा हेलि एभरेष्टका सीईओ कँडेल बताउँछन्। व्यावसायिक रुपमा टिक्न यीमध्ये अधिकांश कम्पनीले हेलि टूर प्याकेज शुरु गरेको उनको भनाइ छ।
उडानमा रहेका हेलिकप्टरमा सीम्रिक एअर र प्रभु हेलिकप्टरको २र२ वटा तथा अल्टिच्युड, हेलि एभरेष्ट, कैलाश, माउन्टेन, श्री एअर, एअर डाइनेष्टी, समिट र मनाङ एअरका १र१ वटा छन्। थन्किएर बसेका हेलिकप्टरमा हरेक कम्पनीको १ देखि ३ वटासम्म छन्। १० वटा कम्पनीसँग न्यूनतम दुईदेखि ६ वटासम्म हेलिकप्टर छन्। सबैभन्दा बढी प्रभुसँग ६ वटा र सीम्रिकसँग पाँच वटा हेलिकप्टर छन्। बाँकी आठ वटा कम्पनीसँग दुईदेखि चार वटासम्म गरी २३ हेलिकप्टर छन्।
कठिन समयमा टूर प्याकेजको भर
हेलिकप्टर कम्पनीले असहज अवस्थामा टिक्ने माध्यमका रुपमा टुर प्याकेज सञ्चालन गरेका हुन्। महामारीका कारण विदेशी पर्यटकको आवागमन ठप्प छ भने आन्तरिक पर्यटक पनि खुलेर हिंड्न सकेका छैनन्। यो अवस्थामा आन्तरिक पर्यटकलाई आकर्षित गरेर व्यवसाय टिकाउन हेलिकप्टर कम्पनीहरूले प्याकेज ल्याउन थालेका हुन्।
कम्पनी टिकाएर कर्मचारी पाल्न र ब्यांकको ऋणको बोझ कम गर्न तथा आन्तरिक गतिविधि चलायमान बनाउन सस्तोमा टुर प्याकेज सञ्चालन गर्नुपरेको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ।
हेलि एभरेष्टका सीईओ कँडेल कर्मचारीलाई तलब खुवाउन पनि समस्या परेकाले जसोतसो सञ्चालन खर्च धान्नकै लागि भए पनि सस्तोमै टूर प्याकेज चलाउन बाध्य भएको बताउँछन्। हेलि एभरेष्टले काठमाडौंबाट विभिन्न गन्तव्यको लागि १५ वटा प्याकेज बनाएको छ। जस अन्तर्गत काठमाडौंबाट गोसाइँकुण्ड, मनकामना, लाङटाङ, क्यान्जिन गुम्बा, हेलम्बु, धुन्चे, चुमभ्याली, सौराहा, लुम्बिनी, चितवन, नगरकोट, चन्द्रागिरी, दक्षिणकालीसहितको गन्तव्यको दुईतर्फी हेलि टूर छ।
टुर प्याकेजप्रति धेरैको रुचि देखिएको गोसाइँकुण्ड र पाथीभराको लागि धेरैले चासो दिएको कम्पनीका सीईओ कँडेल बताउँछन्। उनका अनुसार, गोसाइँकुण्डको टूरमा एकै परिवारका वा पीसीआर चेक भएर आएको अवस्थामा मिश्रित यात्रुलाई प्रतिव्यक्ति रु।१९ हजारमै सेवा दिने प्याकेज छ।
यस्तो प्याकेजमा सबैभन्दा महँगो काठमाडौंबाट चुम भ्यालीको रु।२ लाख ५० हजार र लुम्बिनीको रु।३ लाख २० हजारसम्मको छ। सबैभन्दा सस्तो प्याकेज काठमाडौं विमानस्थलबाट दक्षिणकाली, चन्द्रागिरि र नगरकोटको हेलि टूर हो। यी गन्तव्यमा विमानस्थलबाट लैजाने र फर्काउने गरी प्रतिव्यक्ति रु।१० हजार तोकिएको कँडेल बताउँछन्।
गोसाइँकुण्ड, लाङटाङ, चन्द्रागिरि, नगरकोटसहिको टुरलाई ग्राहकले रुचाउन थालेकोले यसको माग पनि बढ्न थालेको सम्बन्धित हेलिकप्टर कम्पनीको भनाइ छ। यस्तो प्याकेजमा कर्पोरेट हाउसमा काम गर्ने कर्मचारी, विश्वविद्यालयका प्राध्यापक तथा आफ्नै आम्दानी भएका युवा वर्गले रुचि राख्न थालेका छन्।
कँडेल भन्छन्, “हेलिकप्टरबाट जाँदा नयाँ अनुभव हुने त छँदैछ, समयको पनि बचत हुन्छ। कलेज तथा कर्पोरेट संस्थाका कर्मचारीलाई आवासीय तालिमका लागि जान पनि प्याकेज उपयुक्त हुन्छ।”
सीम्रिकको त्यो शुरुआत
चार वर्षअघि सीम्रिक एअरले टुर प्याकेजको शुरुआत गरेपछि अन्य हेलिकप्टर पनि यसतर्फ आकर्षित हुन थालेका हुन्। सीम्रिकले शिवपुरीबाट गोसाइँकुण्ड टूरको प्रतिव्यक्ति रु।२० हजारमा प्याकेज ल्याएको थियो। शुरुआत गरेको वर्ष नै यो प्याकेज ३०० जनाले लिएका थिए।
गएको वर्षसम्म एक व्यक्तिले पनि प्याकेज लिन पाउने व्यवस्था भए पनि यो वर्ष भने कोरोना संक्रमण महामारीका कारण एउटै परिवारका व्यक्तिहरूका लागि मात्रै टुर प्याकेज लिन मिल्ने व्यवस्था मिलाएको सीम्रिक एअरकी वरिष्ठ बजार प्रबन्धक करुणा मानन्धर बताउँछिन्।
हेलि टुरमा नेपालीको पहुँच पुग्न सक्ने गरी प्याकेज आएका र अन्यले पनि हेलि टुर सेवा दिन थालेका कारण गोसाइँकुण्डसहितका गन्तव्यको प्रवर्द्धन झन् सहज भएको छ।
सीम्रिकले काठमाडौंबाट पाथीभरा, धरानबाट भेडेटार, पोखराबाट मुक्तिनाथसहितको गन्तव्यको लागि हेलि टुर प्याकेज सञ्चालन गर्दै आएको छ। यो वायुसेवाले आफ्ना पाँच वटा हेलिकप्टरमध्ये दुई वटाबाट कोरोनाका बिरामीको उद्धार गर्दै आएको छ भने आकस्मिक उद्धारसहितको प्याकेजका लागि अन्य तीन हेलिकप्टर तयारी अवस्थामा राख्ने गर्छ।
पछिल्लो समय कर्पोरेट हाउसले कर्मचारीलाई घुमाउने कार्यक्रम सञ्चालन गर्दा हेलि टुर रोजाइमा पर्न थालेको मानन्धर बताउँछिन्।
श्री एअरका दुई वटा हेलिकप्टरमध्ये एउटा मात्रै उडानमा छ भने अर्कोलाई प्याकेजमा उडान गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ। श्रीका कर्पोरेट प्रबन्धक अनिल मानन्धर प्याकेजको आवश्यकता महसुस गरेको र कस्तो प्याकेज ल्याउने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताउँछन्।
६ वटा हेलिकप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकप्टरले पनि गएको वर्षदेखि गोसाइँकुण्डको टुर प्याकेज सञ्चालन गरिरहेको छ। दैनिक दुई वटा गोसाइकुण्ड हेलि टुर गराइरहेको प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नुर्बु शेर्पा बताउँछन्।
“अहिले विदेशी पर्यटक छैनन् र सबै हेलिकप्टर उद्धार उडानमा प्रयोग पनि हुँदैनन्”, शेर्पा भन्छन्, “कहिलेकाहीँ आउने उडान मागको तुलनामा प्याकेज टूर व्यावसायिक हिसाबले निकै प्रभावकारी हुन्छ।”
साभार: हिमालखबर