काठमाडौं । पार्टी एकता गम्भीर मोडमा पुगेको अपभव्यक्ति उच्च स्तरका नेताहरुबाट सार्वजनिक भैरहेका वेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ(आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न आव्हान गरेका छन् ।
आइतवार राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवम् कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहना र जनादेश विरुद्ध रहेको बताए ।
‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन ।’ उनले भने, जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् भन्दै सबैले समयमै सोच्न जरुरी छ ।
यस्तो छ, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको बीचारः
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश विरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं ।
पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहस र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन ।
तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिवध्दता भए पुग्छ , पार्टीको विधि ,पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।