बिरगञ्ज । तराई मधेशका किसानहरुले लगाउने नगदे बालीमध्येको एक प्रमुख बाली हो, उखु ।
घर खर्च धान्न र कृषि पेशालाई संरक्षण गर्न किसानहरु उखु लगाएर चिनी मिललाई बेच्छन् । तर, मिलले लाखौं रुपैया भुक्तानि नगरिदिँदा उखु किसानहरु वर्षौदेखि ऋणको भारी बोकेर हिडिरहेका छन् ।
हरेक उखु किसानसँग गुुलियो उखुको तितो कथा छ । सर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो । तर भइदियो उल्टो । उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो । ऋणको भारीले भने झन झन थिच्यो ।
समयमै उखुको भुक्तानी नपाएकै कारण उखु खेतिका लागि साहुसँग ऋण सापटि गरेर उखु लगाइन्छ । एक पटक उखु लगाएपछि तीन वर्षलाई काम लाग्छ । तर, चिनी मिलमा उखु बेचेपनि भुक्तानी भने कहिल्यै समयमै नहुँदा त्यो ऋण तिर्न पाइंदैन । ब्याजमा ब्याज जोडिएर उल्टो थपिन्छ । आफ्नै पैसा नपाएर दैनिकी चलाउनै मुश्किल भएको उखु किसान विनोद सिंहले बताए ।
नेपालको लगभग सात वटै प्रदेशमा उखु खेती हुन्छ । तर, सबैभन्दा धेरै प्रदेश २ का आठ वटा जिल्लामा उखु खेती हुन्छ । एक जना किसानले मात्रै २० देखि २५ विगाहा क्षेत्रफलमा उखु खेती गर्छन् । नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको सरकारी तथ्यांक छ । तर, गुलियो उखुले किसानलाई सँधै तितो पीडा दिने गरेको उखु किसान राम दयाल राय बताउँछन् ।
विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन । कारण, उखु किसानले भुक्तानी नपाएको भन्दै वर्षेनी उत्पादन घटाउँदै लगेका छन् ।
अब ऋणको भारी बोक्न नसकेर थिचिनमात्रै बाँकी रहेको महोत्तरीका उखु किसान रामसागर महतोको पीडा छ । किसानभित्र पनि पहुँच भएका र राजनीतिक दलमा आवद्ध भएकाहरुले आन्दोलन गरेर, केन्द्रमा आएर उद्योगीहरुलाई धम्क्याएर भएपनि पैसा लिन्छन् । तर, पहुँच नभएकाहरु सँधै पीडाको पीडामै छन् ।