मंसिर १५, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।
ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ । कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।
सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडरेसनले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटी’को सैद्धान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएपछि यो सम्मेलन विवादित बनेको छ ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिक्स (आईक्याप), इण्टरनेशनल एशोसिएसन अफ् पार्लियामेन्ट फर पिस (आईएपीपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन देशका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य देशका विशिष्ट पाहुनाहरु सहभागी हुनुहुन्छ । सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।
सम्मेलनमा लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि हुनुहुन्छ । सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उहाँहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसक्नुभएको छ । ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौतासमेत भइसकेको छ ।