धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड(माधव नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीको पदपनि असुरक्षित
बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् ।
‘मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,’ उनले भने, ‘अर्को पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षीत रहिरहन्छ भन्ने छैन ।’ प्रदेश सरकारमा एक जना मात्रै ओली पक्षका मन्त्री बोहरा थिए । मुख्यमन्त्रीले आफू निकट नभएको भन्दै हटाएको उनको आरोप छ । बोहरा भन्छन्, ‘आफू पार्टीबाट अलग भएर जाने, अनि मलाई जिम्मेवारीबाट मुक्त गर्ने त्यो राजनीति पूर्वाग्रह नभए के हो त ?’
बोहराले आफ्नो बर्खास्तगीलाई सामान्य रूपमा नलिने बताए । ‘बसेर छलफल गर्छौ । पार्टीले जे निर्णय गर्छ त्यही अनुसार हामी अगाडि बढ्छु’ उनी भन्छन् ‘विभाजित हुने अवस्था सुरु भएपछि संसद्मा पनि आ–आफ्नो पक्षमा लाग्लान् ।’
अहिले सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । यसमा १२ जना कांग्रेसका सांसद र २ जना जनता समाजवादी पार्टीका छन् । ३९ जना नेकपाका सांसद मध्ये सभामुख र उपसभामुख बाहेक ३० जना प्रचण्ड–माधव र ७ जना ओली पक्षमा छन् ।