पुस १, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिसहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन ।
महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेको छ । स्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२ जना राख्न नेताहरु सहमत भएका छन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एकएक मात्र रहनेछन् ।
तर, निर्वाचन पद्धतीमा सहमति जुट्न बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वाचित हुनुपर्ने मत राखेका छन् ।
भोलि विहान ९ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठक अगाडि सहमति जुट्ने नेताहरुको दाबी छ ।
८ पदाधिकारी राख्ने सहमति भएको हो भन्ने प्रश्नमा छलफलमा सहभागी केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने, पदाधिकारी संख्यामा समस्या छैन । निर्वाचन पद्धतीमा सहमतिको कोशिष गर्दैर्छौं ।’ अरु विवाद मिल्यो त भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा सहमति जुट्यो भने अरु विषयमा पनि फरक मत रहन्न ।’
महामन्त्री खड्का नेतृत्वको विधान मस्यौदा समितिले पदाधिकारी नबढाउने प्रस्ताव राखेको थियो । तर, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले भने पदाधिकारी बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने भन्दै फरक मत राखेका छन् ।
कांग्रेसमा विधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत प्रस्ताव नगए विधान पारित गर्न चाहिले दुई तिहाई पुग्ने अवस्था छैन । त्यसैले नेतहरुले सुरुदेखि नै सहमतिको प्रयास गर्दै आएका छन् ।
वरिष्ठ नेता पौडेलले उपसभाति, महामन्त्री र सहमहामन्त्री ३/३ तथा महामन्त्री शशांक कोइरालाले २/३/४ बनाउने प्रस्ताव राखेका थिए । तर, सभापति देउवाले सभापति र कोषध्यक्ष बाहेक तीन पद २/२/२ बनाउने प्रस्ताव गरे ।
अहिले त्यसमै सहमति भएपनि निर्वाचन पद्धतीमा भने छलफल जारी रहेको नेताहरुले बताएका छन् ।