अहिले काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय उपकरणसम्बन्धी मेला ‘इलेक्ट्रो टेक’ सुरु भएको छ । आम नागरिकमा विद्युतबारे जानकारी दिने उद्देश्यले यो मेला आयोजना गरिएको हो । मेलाको प्रमुख आकर्षण विद्युतीय ट्रन्सफर्मर हो ।
‘निक’, ट्रान्सवेल्ड, एबीसी कम्पनीका ट्रान्सफर्मरहरु बढी चल्ने गरेका छन् । नेपालमै कसरी ट्रान्सफर्मर बन्छ भन्ने जानकारी दिने उद्देश्य अनुरुप कम्पनीहरुले आवश्यक कच्चा पदार्थदेखि तयारी सामान पनि मेलामा राखेका छन् ।
विगतमा ट्रान्सफर्मर भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको थियो । तर सन् १९९२ मा नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) स्थापना भएसँगै नेपाली बजारमै स्वदेशी ब्रान्डका ट्रान्सफर्मर उत्पादन हुन सुरु भएको हो ।
अहिले नेपाली ट्रान्सफर्मर कम्पनीले गुणस्तरीय सामान उत्पादन गरेकै करण निर्यात समेत भइरहेको छ । ‘निक’ ले आफ्ना उत्पादन विदेश निर्यात गर्दै आइरहेको छ भने मुलुकभित्र पनि अधिकार जमाएको छ । नेपालमा उत्पादित ट्रान्सफरमरका सामग्री विभिन्न २० देशमा निर्यात हुने गरेका छन् । नेपालमा निक, ट्रान्सवेल्ड, हिमालयन, स्वस्तिकलगायत नेपाली ब्रान्डका ट्रान्सफर्मर उत्पादन हुँदै आएका छन् भने एबीसीलगायत विदेशी ब्रान्डका ट्रान्सफर्मरसमेत आयात हुने गरेको छ । नेपालमा हाल निक, ट्रान्सवेल्ड तथा एबीसी ट्रान्सफर्मरबीच प्रतिस्पर्धा छ ।
विद्युतीय क्षेत्रमा निकै संवेदनशील र महँगो मानिएको ट्रान्सफरमर उत्पादनमा नेपाल आत्मनिर्भर नै भए पनि यसका पार्टपुर्जा विदेशबाटै ल्याउनुपर्ने अवस्था छ । ट्रान्सफरमरका सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ इनामेल तार र तामाको तार नेपालमा नै उपलब्ध हुने भए पनि सिल्कन र स्टीलको तारलगायत कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ । क्यामेरामा कान्छा डंगोल र केदार महर्जनका साथ टिभी जर्नलिष्ट छविलाल बगाले काठमाडौं ।