पोखरा । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद सदस्य खिमविक्रम शाहीलाई कोरोना संक्रमण भएको पुष्टि पोखराको चरक अस्पतालले गरेको छ । उनलाई अहिले उक्त अस्पतालमा भर्ना गरिएको छ ।
प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविस्वासको प्रस्तावमाथि मतदान हुने समयमा बुधबार दिउँसो शाहीलाई चरक अस्पताल भर्ना गरिएको हो ।
शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालकी कोभिड–१९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो । शाहीलाई २ लिटर अक्सिजन लगाइरहेकोले अस्पताल स्रोतले जनाएको छ । उनको अक्सिजन स्याचुरेसन ९५, ९२ छ ।
अस्पताल स्रोतका अनुसार शाहीको आरटी–पीसीआर चरक अस्पतालमा गरिएको होइन । शाहीलाई कोरोना भएको भनेर पोखराकै लाइफ केयर डायग्नोस्टिक प्रालिमा आरटी–पीसीआर परीक्षण गरिएको र त्यसमा कोरोना संक्रमित भएको देखिएको छ ।
सांसद शाहीलाई चरक अस्पतालकी कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. क्लारा पौडेल लगायतको रेखदेखमा राखिएको बताइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले शाहीको स्वाब मंगलबार लिएको थियो । जसको रिपोर्ट बुधबार आएको थियो । उक्त रिपोर्टमा शाहीमा कोरोना संक्रमण नरहेको उल्लेख छ ।
गण्डकीमा सरकार चलाइरहेको नेकपा (एमाले)ले मंगलबार सबै सांसदको पीसीआर परीक्षण माग गर्दै प्रदेश सभा अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएकोमा बुधबार बिहान रिपोर्ट आएको थियो । जसमा तीन जना प्रदेश सभा सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमा शाही थिएनन् ।
चरक अस्पताल प्रहरीको पहरामा
प्रदेश सभा सदस्य शाहीलाई भर्ना गरिएको चरक अस्पताललाई प्रहरीले दिउँसोदेखि नै पहरा दिइरहेको छ । त्यहाँ प्रहरीको बाक्लो उपस्थिति रहेको छ । शाही अस्पताल भर्ना भएसँगै प्रहरीले अस्पताल वरपर पहरा दिइरहेको छ ।
प्रदेश सभा सदस्यलाई अविश्वासको प्रस्तावमाथि आफ्नो मत दिनबाट रोकेर अस्पतालमा बन्दी बनाइएकोु भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभामा'अविश्वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी रुु हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले सांसद शाहीलाई राखिएको चरक अस्पतालमाथि पनि प्रश्न उठाएका छन् ।
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्नका लागि प्रदेश सभामा ३१ सदस्यको आवश्यकता पर्छ । गण्डकी प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक सांसद स्वतन्त्र छन् ।
एमाले बाहेकका दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री गुरुङ भने आफ्नो कुर्सी जोगाउन विभिन्न प्रयास गरिरहेका छन् । उनले काठमाडौंमा आएर जनमोर्चाका शीर्ष नेताहरूसँग छलफल गर्नेदेखि लिएर अविश्वास प्रस्ताव आउने थाहा पाएलगत्तै रातारात प्रदेश सभा अधिवेशन अन्त्य गर्नेसम्मका कदम चालिसकेका छन् ।
जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेकाले अवस्था पत्ता लगाउन र जीवन रक्षाको माग गर्दै उक्त दलकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी थिइन् । उक्त निवेदनका आधारमा प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।