काठमाडौं । वैकल्पिक शक्तिको रुपमा विकसित हुने अपेक्षा गरिएको विवेकशिल साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीका सदस्यहरुलाई सोमबार १८ पृष्ठ लामो प्रतिवेदन पठाउँदै अर्का संयोजक रविन्द्र मिश्रमाथि पार्टीलाई ‘गलत दिशमा’ हिडाएको आरोप लगाएपछि पार्टी भित्रको विवाद सतहमा आएको हो ।
संयोजक थापाले अर्का संयोजक मिश्रमाथि अपादर्शी भएको र प्रचारमुखीमात्र भएको जस्ता गम्भीर आरोप लगाएका छन् । साथै उनले पार्टीले लिएको दिशा पनि गलत भएको भन्दै तत्काल महाधिवेशन गर्नुपर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा छुट्टा छुटै निर्वाचन लडेका विवेशील नेपाली र साझा पार्टीबीच संघ र प्रदेशको चुनाव अघि एकीकरण भएको थियो । काठमाडौं महानगरमा विकेशीलकी रञ्जु दर्शना र साझा किशोर थापाले उल्लेख्य मत ल्याएपछि हौसिएका दुई पार्टी एकीकरणपछि संघीय र प्रादेशिक निर्वाचनमा पनि उल्लेख्य मत ल्याउने अपेक्षासहित एकीकृत भएका थिए । तर, यी चुनावमा भने एकीकृत दलले प्रत्येक्षतर्फ कुनै सीट जित्न सकेन भने संघीयमा थ्रेसहोल्ड पनि कटाउन सकेन । यद्यपी प्रदेश ३ मा भने ३ सीट जित्न सफल भयो ।
यो चुनावमा अपेक्षाविपरित नतिजा भोगेपछि कार्यकर्तामा विस्तारै नैराश्यता उत्पन्न भएको अवस्थामा दुई संयोजकबीच देखिएको विवादले पार्टीमा विग्रह ल्याउन सक्ने एक नेताले बताए । उता प्रवक्ता डा. सुरेश आचार्यले भने संयोजक थापाको प्रतिवेदनलाई बेमौसमी बाजा भनेका छन् । उनले संयोजक उज्ज्वल थापाको अकर्मण्यता र कार्यशैलीले गर्दा समस्त पार्टी पंक्ति गतिशील हुन नसकेको आरोप लगाएका छन् ।
उनले पार्टीको समितिमा छलफल गर्नुपर्ने विषयलाई संयोजक थापाले व्यक्तिगत रुपमा पार्टीका सदस्य तथा सुभेच्छुकलाई पठाएर भ्रम सिर्जना गराएको टिप्पणी गरेका छन् ।
थापाले ‘निर्मम समिक्षा’ भने जारी गरेको प्रतिवेदनमा संयोजक मिश्र निरंकुश बन्दै गएको, सदस्यहरुलाई जिम्मेवारी नदिएको, पारदर्शिता नअपनाएको, पार्टी चलाउने ढंग नभएको, पार्टीलाई गति दिन नसेकेको आत्मप्रचारमा रमाएको जस्ता आरोप लगाएका छन् ।