सुर्खेत । सत्तारुढ दल नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिले पार्टी बिरोधी गतिविधि गर्ने नेता कार्यकर्तालाई यथोचित ढंगले निगरानी गर्न दशवटै जिल्ला कमिटिलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको विषयलाई लिएर कांग्रेस, माओवादी केन्द्र लगायतका केही राजनीतिक दलहरुसँग पार्टीको नाम जोडेर प्रदेशका सुर्खेत र हुम्ला जिल्लामा आप्mनै पार्टी अध्यक्ष विरुद्ध लागेको प्रति इंगित गर्दै प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले मातहतका कमिटिलाई यस्तो निर्देशन दिएका छन् ।
‘केही जिल्लामा पनि विपक्षी दलहरुले विज्ञप्ति मार्फत सदन विघटन तथा मध्यावधि निर्वाचन घोषणाको विरोधमा विज्ञप्ति प्रकाशित गरेको कुरा सञ्चार माध्यममा आइरहेका छन् । सोही क्रममा हुम्ला जिल्ला र सुर्खेत जिल्लामा नेपाली कांगे्रस लगायतका केही राजनीतिक दलहरुको तर्फबाट प्रकाशित संयुक्त विज्ञप्तिमा केही व्यक्तिले नेकपा(एमाले)को पदीय परिचय दिई हस्ताक्षर गरेको कुराप्रति नेकपाएमाले), कर्णाली प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रदेश अध्यक्ष बोगटीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको नीति तथा निर्देशन बिपरित अनाधिकृत तथा अराजनीतिक तरिकाले विपक्षी गठबन्धनमा सामेल भई विज्ञप्तिमा हस्ताक्षर गर्ने व्यक्ति पार्टीको आधिकारिक नभएका र सो कार्यलाई अस्वीकार गरिएको कुरा यसै विज्ञप्ति मार्फत एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमा जानकारी गराउँदछु ।’
विगतका कुराहरुलाई भुलेर गुट, फुट तथा विभाजनमा नलागी एमालेमै एकतावद्ध हुन पनि कर्णाली प्रदेशका एमालेका सम्पूर्ण सच्चा, इमान्दार, अनुशासित तथा बफादार कार्यकर्ताहरुमा अनुरोध गर्दै अध्यक्ष बोगटीले पार्टीको नाममा गरिने कुनैपनि अबैधानिक, अराजनीतिक, अलोकतान्त्रिक क्रियाकलाप तथा गलत हर्कतलाई तिरस्कारगरी हाम्रो प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन सबै कार्यकर्ताले आ–आफ्नो ठाउँमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
पार्टीकै नेतृत्वको बिरुद्ध अबैधानिक, अराजनीतिक तथा अनुशासनहीन कार्यमा लाग्नेहरुका बारेमा यथोचित ढंगले सोच्न पनि जिल्ला कमिटीहरुलाई जानकारी गराउँदछु’ विज्ञप्तीमार्फत अध्यक्ष बोगटीले उल्लेख गरका छन् ।
लोकतन्त्रको सवैभन्दा सुन्दर पक्ष निर्वाचन भएको उल्लेख गरेका बोगटीले नेकपा(एमाले) र एमाले नेतृत्वको सरकारको पक्षमा दृढतापूर्वक उभिन, विपक्षी गठबन्धनका नामम गरिने गलत तथा भ्रमपूर्ण कार्यको सक्रियतापूर्वक खण्डन गर्न र नयाँ प्रकार(भेरियन्ट)सहितको कोभिड–१९(कोरोना भाइरस)को महामारीले सिंगो देश आक्रान्त भइरहेको अवस्थामा आफु शुरक्षित रही स्थानीय नागरिकको जीवन रक्षामा आ–आफ्नो ठाउँबाट सजकतापुर्वक पार्टी संयन्त्रलाई परिचालित गर्न गराउन मातहतका सबै कमिटि र कार्यकर्तालाई समेत अपिल गरेका छन् ।
प्रतिनिधिसभा विघटनको बिरोध गर्दै नेपाली कांग्रेस, माओवदाी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चासँग नेकपा एमालेका तफएबाट हुम्लामा पार्टी सचिव तिर्थराज रोकाया र सुर्खेतबाट सचिव मोहनसिंह बडुवालले हस्ताक्षर गरेका थिए ।
एमाले कर्णाली प्रदेशले निकालेको विज्ञप्तीको पूर्णपाठ
प्रेस–वक्तव्य सर्वोच्च अदालतको फैसलाबाट नेकपाको एकीकरण भंग भएसँगैनेपालका कम्युनिष्ट पार्टीहरुमध्ये सिद्धान्त, विचार, नीति, संगठन, योगदान, जनप्रभाव, जनविश्वास, जनताको आशाभरोसा, कार्यक्षमता, कार्यक्रम तथा व्यवहारका दृष्टिबाट सर्वोत्तम कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुन सफल भएको हाम्रो गौरवशाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी(एमाले) पुनःस्थापित भई आफ्नो सांगठानिक तथा राजनीतिक गतिविधिहरु देशव्यापी रुपमा अघि बढाई रहेको छ । यही सिलसिलामा कर्णाली प्रदेशमा पनि एमालेका निष्ठावान, अनुसासित, सच्चा तथा बफादार कार्यकर्ताहरु एमालेमै संगठित भएर अघि बढ्नेर एमालेको नीतिनिर्देशनमा चल्नेक्रम जारी रहेको छ ।
यसको ज्वलन्त उदाहरण हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत माग्दै गरेको बेला,कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेका सबै सांसदहरुले एक मतकासाथ प्रधानमन्त्रीलाई विश्वासको मत दिएबाट स्पष्ट हुन आउँछ । नेकपाको एकता भंगभएसँगै देशको राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुन पुगेको विषयमा पार्टीका नेता, कार्यकर्ता, सुभचिन्तकहरुलाइमात्र नभई आम नेपालीलाई जानकारी भइसकेको विषय हो । नेकपा हुदाकै अवस्थामा पार्टीभित्रैबाट पार्टीको नेतृत्व तथा सरकारलाई चौतर्फी घेराबन्दी गर्ने,विभिन्न बहानामा सरकारको खुलेयाम बिरोध गरिरहने, गलत साँठगाँठबाट पार्टी र सरकारको नेतृत्व हत्याउन खोज्ने क्रियाकलाप भइरहेकै थिए । यसैबीच पार्टी पुनः स्थापित भइसकेको अवस्थामा पनि केही व्यक्तिहरुबाट एमालेको आवरणमा एमालेकै नेतृत्वको तेजोवध गर्ने,अराजनीतिक तथा अनुशासनहीन हत्कण्डा मचाउने, पार्टी नेतृत्वको विरोधमा अनुशासनहीन तरिकाले प्रस्तुत हुने र पार्टीलाई विभाजनको तहसम्म लैजाने हरकत झनपछिझन भइ रहे,जो अहिले पनि जारी छन्।
केही समयदेखि आफ्नै पार्टी नेतृत्वको लोकप्रिय सरकारलाई विस्थापन गर्नका लागि केही व्यक्तिहरु विरोधीहरुसँग खुलेयाम अपवित्र साँठगाँठ गरिरहेका थिए । अर्कोतर्फ केही समयदेखिनैं केही विपक्षी दलहरु पनि जसरी पनि ओली सरकार ढाल्नुपर्छ भन्ने तानावाना बुन्ने गरिरहेका तर नसकिरहेको अवस्था थियो । यस्तै अवस्थामा प्रधानमन्त्री स्वयंले सदनबाट विश्वाशको मत लिने प्रक्रिया रोज्न पुग्नु भयो । सो प्रक्रियाको प्रयोग गर्नेक्रममा सदनबाट विश्वासको मत लिन प्रधानमन्त्री असफल भएपछि संबैधानिक व्यवस्ता अनुसारनै बैकल्पिक सरकार निमार्ण गर्ने अन्य चरणमा मुलुक प्रवेश गरेको कुरा पनि आम नागरिकलाई जानकारी भएकै कुरा हो । त्यही सिलसिलामा संबिधानतः बैकल्पिक सरकार गठन गर्ने सबै चरण असफल भएपछि संबैधानिक एवम् बाध्यात्मक परिस्थितिको उपज स्वरुप मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मौजुदा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोक्नुभएको विषयमा पनि सबैलाई घामजतिकै छर्लङ्गनै छ । अतः संबैधानिक तवरले गरिएको यो कार्यलाई नेकपा (एमाले),कर्णाली प्रदेश कमिटी हार्दिक स्वागत गर्दछ । र कर्णाली प्रदेशका नेकपा(एमाले) का दशवटै जिल्ला कमिटीलाई यसमा दृढतापूर्वक उभिनका लागि निर्देशित गरिन्छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचननै हो । केन्द्रमा राज्यका निकायहरुले निकास दिननसकेको अवस्था तथा सिर्जित राजनीतिक अस्थिरता तथा गन्जागोलको अवस्थालाई निराकरण गर्ने उपयुक्त माध्यम भनेकै जनादेशमा जानु हो । सार्वभौम जनताको अभिमतबाट देशमा राजनीतिक स्थायित्व कायम गर्ने प्रक्रियामा जानुलाई प्रतिगमनको संज्ञा दिनुभनेकै प्रतिगमन शब्दको सरासर अपब्याख्या गर्नु हो । आफुलाई लोकतन्त्रवादी हौं भन्ने दलहरुले निर्वाचनलाई स्वीकार गरेर अघि बढ्नुनै उनीहरुसमेत देश र जनताको लागि हितकर कुरा हो ।
तैपनि केन्द्रमा नेपाली कांगे्रस, माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चा र केही व्यक्तिहरु मिलेर विपक्षी गठबन्धनको नामबाट प्रतिनिधि सभा विघटनको विरोधमा न्यायालयको ढोका धाउन पुगेका र अस्वभाविक क्रियाकलाप गर्नगराउनमा उद्धत देखिन्छन् । त्यसैको देखासिखि केही जिल्लामा पनि विपक्षी दलहरुले विज्ञप्ति मार्फत सदन विघटन तथा मध्यावधि निर्वाचन घोषणाको विरोधमा विज्ञप्ति प्रकाशित गरेको कुरा सञ्चार माध्यममा आइरहेका छन्। सोही क्रममा हुम्ला जिल्ला र सुर्खेत जिल्लामा नेपाली कांगे्रस लगायतका केही राजनीतिक दलहरुको तर्फबाट प्रकाशित संयुक्त विज्ञप्तिमा केही व्यक्तिले नेकपा(एमाले)को पदीय परिचय दिई हस्ताक्षर गरेको कुराप्रति नेकपाएमाले),कर्णाली प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको नीति तथा निर्देशन बिपरित अनाधिकृत तथा अराजनीतिक तरिकाले विपक्षी गठबन्धनमा सामेल भई विज्ञप्तिमा हस्ताक्षर गर्ने व्यक्ति पार्टीको आधिकारिक नभएका र सो कार्यलाई अस्वीकार गरिएको कुरा यसै विज्ञप्ति मार्फत एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमा जानकारी गराउँदछु ।
विगतका कुराहरुलाई भुलेर गुट, फुट तथा विभाजनमा नलागी एमालेमै एकतावद्ध हुन पनि कर्णाली प्रदेशका एमालेका सम्पूर्ण सच्चा, इमान्दार, अनुशासित तथा बफादार कार्यकर्ताहरुमा अनुरोध गर्दछु। पार्टीको नाममा गरिने कुनैपनि अबैधानिक, अराजनीतिक, अलोकतान्त्रिक क्रियाकलाप तथा गलत हर्कतलाई तिरस्कारगरी हाम्रो प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन सबै कार्यकर्ताले आ–आफ्नो ठाउँमा सक्रिय भूमिका खेल्न पनि सूचित गर्दछु। अबैधानिक,अराजनीतिक तथा अनुशासनहीन कार्यमा लाग्नेहरुका बारेमा यथोचित ढंगले सोच्न पनि जिल्ला कमिटीहरुलाई जानकारी गराउँदछु । नेकपा(एमाले) र एमाले नेतृत्वको सरकारको पक्षमा दृढतापूर्वक उभिन, विपक्षी गठबन्धनका नामम गरिने गलत तथा भ्रमपूर्ण कार्यको सक्रियतापूर्वक खण्डन गर्न र नयाँ प्रकार(भेरियन्ट)सहितको कोभिड–१९(कोरोना भाइरस)को महामारीले सिंगो देश आक्रान्त भइरहेको अवस्थामा आफु शुरक्षित रही स्थानीय नागरिकको जीवन रक्षामा आ–आफ्नो ठाउँबाट सजकतापुर्वक पार्टी संयन्त्रलाई परिचालित गर्नगराउन पनि सबै कार्यकर्तालाई हार्दिक अपिल गर्दछु ।
(गोरखबहादुर बोगटी)
अध्यक्ष
जेठ ११ गते, २०७८