माघ ६, पोखरा । प्रमूख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको देउवाले आरोप लगाए । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा देउवाले भने, ‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ । उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म हामी कडा आन्दोलन गर्छौ ।’
कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै देउवाले यसमा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए । देउवाले भने, ‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’
पूर्वप्रधानमन्त्री देउवाले ओली सरकारलाई कांग्रेस नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘आज कांग्रेसका महान नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको छ । अनि आज नाम हटाउँछन् र भोलि प्रजातन्त्र समेत हटाउन चाहन्छन् ।’
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको वृत्ति विकासमा असर पारे चुप लागेर नबस्ने चेतावनी दिए । वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको उनको आरोप छ ।