माघ ७, सुर्खेत । गएको असोजमा स्थगित गरिएको कर्णाली समन्वय परिषद् बैठकमा विभिन्न चार बिषयमा छलफल गर्ने गरी सरकारले तयारी थालेको जनाएको छ ।
कर्णाली प्रदेशका मन्त्रीहरुसहित विभिन्न मन्त्रालयका सचिवहरुको संयुक्त बैठकले आगामी माघ १४ र १५ गते बैठक बस्ने निर्णय गरेको कर्णाली सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए । उनले कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा बैठकले प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठकलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको बताए ।
कर्णाली प्रदेश समन्वय परिषद् बैठकमा परिषद् पदाधिकारीका अतिरिक्त कर्णालीवाट प्रतिनिधित्व गर्ने संघीय संसदहरु, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय अधिकारीहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, कर्णाली प्रदेश सरकारको विज्ञ समुहका सदस्यहरु, विषयगत विज्ञहरुलगायतलाई सहभागीताका लागि निमन्त्रणा गर्ने निर्णय गरिएको थपलियाले बताए ।
यस्ता छन् छलफलका बिषय !
बैठकमा प्रदेश र स्थानीय तहका योजनाहरुबीचको अन्तरसम्वन्ध, प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तरसम्बन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानुनहरुबीचको अन्तरसम्वन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरुवीचको अन्तरसम्वन्धका विषयमा छलफल गरिने छ । यी बिषयहरुको कार्यपत्र निर्माणका लागि डा. पुण्यप्रसाद रेग्मी, बालानन्द पौडेल, काशीराज दाहाल, र डा. वैकुण्ठ अर्याललाई निमन्त्रणा गरिएको छ।
ज्वालाको संयोजकत्वमा प्रतिबद्धता मस्यौदा समिती
बैठकले प्रदेश समन्वय परिषद्को साझा प्रतिबद्धता पत्र मस्यौदा तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । मस्यौदा समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश अध्यक्षहरु सदस्य रहेका छन् ।