काठमाडौँ : भेनेजुयलामा गरेको राजनीतिक हस्तक्षेपको कडा निन्दा गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विज्ञप्ति निकालेका छन् ।
अमेरिकाले भेनेजुयलाको सत्ता पलटका लागि केही दिनअघिदेखि गरेको हस्तक्षेपको निन्दा गर्दै निकालिएको विज्ञप्तिमा प्रचण्डले आफूलाई त्यहाँका जनताको पक्षमा उभ्याएका छन् ।
अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु निन्दनीय भएको प्रचण्डले उल्लेख गरेका छन् ।'भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,' प्रचण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ, 'अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ । अमेरिकाले भेनेजुयलाको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको कुरा निन्दनीय छ ।'
जनताको मतबाट प्रजातान्त्रिक विधिको सदुपयोग गर्दै निर्वाचित भएका त्यहाँका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिएर अघि बढ्न पनि प्रचण्डले अमेरिका र उसका सहयोगी राष्ट्रलाई आग्रह गरेका छन् ।
प्रचण्डले जनताबाट निर्वाचित मादुरोविरुद्ध षड्यन्त्र गरेर भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिकारुपमा जुआन गुआइडोको घोषणालाई अमेरिकाले मान्यता दिनु त्यहाँका जनतामाथिको गम्भीर षड्यन्त्र भनेका छन् । 'अमेरिकासहितका मुलुकबाट जननिर्वाचित राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र भएको देखिन्छ', उनले भनेका छन्, 'अमेरिकाको यो प्रयास अरु देशको मामिलामा हस्तक्षेप मात्रै नभएर 'कू' गर्ने एउटा प्रयास पनि हो । यसलाई कुनै पनि सार्वभौम मुलुक र हामीले पनि स्वीकार्न सकिँदैन ।'
अध्यक्ष प्रचण्डले वामपन्थीहरुले पकड बनाएपछि अमेरिकाले भेनेजुयलामा एक दशकदेखि निरन्तर राजनीतिक हस्क्षेप गरेकोमा पनि चिन्ता जनाएका छन् । 'अमेरिकाले भेनेजुयलामा एक दशकदेखि आर्थिक प्रतिबन्ध लगाउँदै सैनिक आक्रमणको पनि डर देखाएर हिंसा र रक्तपात मच्चाउन खोजेको छ', उनले भनेका छन्, 'अमेरिकाको यस्तो कार्यले संयुक्त राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सह-अस्तित्वको सिद्दान्तलाई पनि गम्भी चुनौती दिएको छ।'
प्रचण्डले अन्य राष्ट्रहरुमा अनावश्यक हस्तक्षेप नगरेर ती मुलुको सार्वभौमसत्ता, शान्तिपूर्ण सह-अस्तित्वको नीतिको सम्मान गर्न पनि अमेरिकालाई अपिल गरेका छन् ।