रुकुम (पूर्व) । भेडाको ऊनबाट बनेका सामग्रीले बजार नपाएपछी रुकुम पूर्वका किसान चिन्तित बनेका छन् । ऊनबाट बनेका राडीपाखी, बक्खु, पटुका, गलैँचा, स्वीटर, घुम लगायतका सामग्रीले बजार नपाएको स्थानीयको गुनासो गरेका छन् ।
भौगोलिक रुपमा विकट लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वका किसानले वर्षौंदेखि भेडापालन गर्दै आईरहेका छन् । जिल्लाको माथिल्लो भेगका मगर समूदायका मानिसहरुले भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर जिविका चलाउने भएपनि पछिल्लो समय उत्पादित सामग्रीले बजार नपाउँदा उनिहरुलाई समस्या परेको छ ।
रुकुममा बनेको ऊनका सामग्रीले बजार पाएनन्
भेडाका ऊनबाट बनेका सामग्री बनाउने र विक्रि गर्ने गरेका स्थानियको रोजगारी समेत त्यसैबाट सिर्जना हुँदै आएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र बाहिरबाट आयातित कपडाहरूका कारण परम्परागत रूपमा हरेक घरमा बुनिदैं आएका सामग्री विस्तारै विस्थापित हुन थालेका छन् । यद्यपी उनबाट विभिन्न सामग्री बनाउने र परम्परागत पेशालाई उद्योगको रुपमा स्थापना गर्ने रहर भएको पुथा उत्तरगंगा–११, का सता बुढा मगरले जानकारी दिए ।
भेडाको राँैंबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लाग्छ । अहिलेसम्म परम्परागत औजारबाट सामग्री निर्माण हुँदै आएका छन । जसले गर्दा व्यवसायमा फट्को मार्न नसकिएको स्थानीयको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालय रुकुम पुर्वका उद्योग अधिकृत तारा प्रसाद शर्मा भने उद्योग सञ्चालनका लागी सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नयाँ पुस्ताले गाउँमै बुनिएका कपडा प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएका कारण भविष्यमा राडी, पाखी, बख्खु लगायत उनबाट बन्ने सामग्री लोप हुनसक्ने स्थानीयको चिन्ता छ ।