माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किँदैछन् ।
स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री ओली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जनाएको छ ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग प्रधानमन्त्री ओली सहभागी भएका थिए ।
ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिम्स्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवर्द्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।