काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा लाग्ने कि सत्ता गठबन्धनमै रहेर सरकारमा जाने भन्ने विषयमा ‘निर्णायक’ गृहकार्य थालेका छन् ।
हरहालतमा पार्टी एकतामा जानुपर्ने दोस्रो तहका नेताको दबाब र आफ्नै भूमिकाका कारण गठन भएको सरकारमा जानुपर्ने सांसदहरूको अडानले अलमलमा परेका वरिष्ठ नेता नेपालले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श सुरु गरेका छन् ।
देशभरका कार्यकर्तासमेत अन्योलमा रहेकाले नेता नेपालमाथि छिटो टुंगोमा पुग्न दबाब बढ्दै गएको छ । उनलाई पर्खने हुँदा सत्तारूढ दलले पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । नेता नेपालले गठबन्धनलाई सरकारमा सहभागिताबारे शुक्रबारसम्म ठोस निर्णय लिने आश्वासन दिएका छन् । उनीनिकट केन्द्रीय सदस्यहरूको बिहीबार भएको बैठकमा भने पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।
नेता नेपालले भने आइतबारसम्म एकताका लागि पहल गर्ने र प्रगति नभए विकल्पमा जाने संकेत दिएका छन् । तर अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय ‘देशद्रोही’, ‘गद्दार’ भनेर नेपालमाथि टिप्पणी गरिरहेकाले पार्टी एकतातर्फ अघि बढ्न समस्या भएको नेताहरूको भनाइ छ । निर्णय लिन जति ढिलो भयो उति छवि धुमिल हुँदै जाने भन्दै नेता नेपालपक्षीय केन्द्रीय सदस्यले निष्कर्षमा पुग्न जोडबल गरिरहेका छन् ।
‘हामीले पार्टी एकताका लागि धेरै र अन्तिमसम्म प्रयास गर्नुपर्छ । त्यसका लागि साउन २४ गतेसम्म मिल्यो भने मिल्यो, नभए सोच्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने । साउन २४ अन्तिम अल्टिमेटम हो कि फेरि थपिन्छ भन्नेबारे भने उनी पक्षीय नेताहरू अलमलमा छन् । बैठकमा नेता नेपालले मिल्नुपर्छ भन्ने पक्षमा ओली नरहेको बताएका थिए । ‘जब मिल्ने–मिल्ने जस्तो स्थिति हुन्छ, त्यसबेला बैठक राखेर कारबाही गर्छन्, गालीगलौज गर्छन् र वातावरण बिगार्छन् । केपी एकताका लागि गम्भीर छैनन्, एकता पनि गर्दैनन् । तर पनि २४ गतेसम्म हेरौं,’ नेता नेपालले भनेका थिए ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार नेता नेपालले ओलीको अभिव्यक्तिले वातावरण बिग्रेको बताएका थिए । ‘अध्यक्षको प्रस्ताव पनि उनले नै ल्याउने, गद्दारदेखि देशद्रोहीसम्म उनले नै भन्ने ! कार्यदलका साथीहरूसँग पनि कहिले हुन्छ भन्ने, कहिले मान्दिनँ भन्ने, दिनदिनै कुरा फेर्ने ! उनी एकताको पक्षमा छैनन् भन्ने देखिएको छ,’ नेता नेपालले भनेका थिए । उनले सिंगो एमाले पंक्तिले एकता चाहेको उल्लेख गर्दै टिम एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
नेता नेपाललाई पार्टीभित्र एकताका लागि दबाब छ भने सत्ता गठबन्धनका नेताहरूले लगातार भेटेर सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । यही दबाबका बीच नेपालले केन्द्रीय सदस्यको रायका आधारमा अगाडि बढ्ने योजना बनाएका हुन् । ‘अनिर्णयको बन्दी हुँदा माधव कमरेडको राजनीतिक निष्ठामाथि नै प्रश्न उठ्न थाल्यो । कार्यकर्तामा पनि अलमल पैदा गर्यो । त्यसैले उहाँले ठोस निर्णय लिने मनस्थिति बनाएर केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । अब एउटा स्पष्ट निर्णय आउँछ,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने ।
बैठकमा नेता नेपालले पार्टी निर्माणमा आफूहरूको योगदान रहेकाले अन्तिमसम्म एकता प्रयास गर्ने बताएका थिए । ‘हामीले बनाएको पार्टीलाई सकेसम्म एकताबद्ध गराउने अन्तिमसम्म प्रयास रहन्छ । केपीको गतिविधिले अहिलेको ठाउँमा पुर्याएको हो,’ नेपालको भनाइ उद्धृत गर्दै अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘अहिले हामीले अपमान पनि सहेका छौं तर पार्टी जोगाउने दायित्व हाम्रो छ ।’
बैठकमा विघटित कार्यदल सदस्यसहित स्थायी कमिटीका केही नेताको पछिल्लो भूमिकालाई लिएर केही केन्द्रीय सदस्यले प्रश्न उठाउँदै आएका थिए । त्यस सन्दर्भमा नेता नेपालले कोहीबीच मतभेद केही नरहेको र सबै एकताबद्ध नै रहेको दाबी गरेका थिए । एमाले उपाध्यक्ष भीम रावलले ओली पक्षसँग भएका वार्ता र एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेका थिए । ‘एकता प्रक्रिया अन्तिम चरणमा पुग्यो भन्ने बेला ओलीबाट आएका अभिव्यक्तिले वातावरण बिथोल्यो,’ उनले भनेका थिए, ‘कतिपय सन्दर्भमा एकता जब अन्तिम अन्तिममा पुग्छ, त्यतिबेला नै केपी ओलीबाट आएका अभिव्यक्तिले थप उत्तेजित पार्ने, बिगार्ने काम भएको छ । तर पनि एकताको प्रयत्न गर्नु हाम्रो दायित्व हो ।’
बिहीबार २१ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । ‘केही कमरेडले अब ओलीसँग मिलेर बस्न सकिँदैन भन्नुभयो । केहीको एकता गर्नुपर्छ तर सम्मानजनक हुने अवस्थामा मात्रै सम्भव छ भन्ने धारणा आयो । सम्मानजनक एकता भएन भने हामी अगाडि बढ्नुपर्छ भन्ने मत पनि आएको छ,’ सुनुवारले भने । उपाध्यक्ष ज्ञवालीका अनुसार बैठकमा अधिकांश केन्द्रीय सदस्यले महाधिवेशनसम्म दुई अध्यक्ष बनाएर जाँदा पार्टी एक हुने धारणा राखेका थिए । ‘विशेष परिस्थिति भएकाले महाधिवेशनसम्म दुई अध्यक्ष बनाएर जाँदा सन्तुलन मिल्छ, पार्टी एकता पनि हुन्छ भन्ने कमरेडहरूको कुरा थियो,’ ज्ञवालीले भने ।
केही केन्द्रीय सदस्यले पार्टी महाधिवेशन प्रक्रिया रोक्न ओली पक्षसँग माग पनि गरेका छन् । १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी बसेपछि मात्रै अरू प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ । ओली पक्षले यसअघिको बैठकबाट असोज ९ भित्र स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । पार्टी एकताका लागि अध्यक्ष ओलीसँग संवाद गराउने दोस्रो पुस्ताका नेतामार्फत नेपालले यसअघि नै बुँदागत रूपमा राजनीतिक र संगठनात्मक प्रस्ताव पठाएका छन् । तर संस्थापन पक्षबाट सकारात्मक प्रतिक्रिया नआएको भन्दै नेपालले अध्यक्ष ओलीसँग भेट गर्नसमेत अस्वीकार गरेका छन् । नेपालले लगातार सम्मानजनक एकताको वकालत गर्दै आएका छन् ।
बिहीबारको बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको नेपाल पक्षको दाबी छ । बैठकमा विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रवीन्द्र अधिकारी, रामकुमारी झाँक्री, नीरा जैरू, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले सुझाव दिएका थिए । स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने बैठकमा सहभागी भएनन् । ज्ञवालीका अनुसार नेताहरूलाई जानकारी गराएर नै पाण्डे र भट्टराई सहभागी नभएका हुन् ।
एकता प्रयास जहाँको त्यहीँ
बैठकमा विघटित कार्यदलका संयोजक रावलले ओली र उनीनिकट नेताहरूसँग भइरहेका संवादमा कुनै प्रगति नभएको ब्रिफिङ गरेका थिए । नेताहरूबीच अधिकार बाँडफाँटका विषयमा सहमति नजुट्दा ओली–नेपाल भेटवार्ता सम्भव भएको छैन ।
नेता नेपालले पार्टी एकताका लागि तलदेखि माथिसम्म आफ्नो समूहका नेता–कार्यकर्ताको सम्मानजनक संगठनात्मक हैसियत हुनुपर्ने, समानान्तर कमिटीको हैसियत स्विकारेर पुनःसंरचना गर्नुपर्ने, विगतमा भएका सम्पूर्ण कारबाही प्रक्रिया रोकिनुपर्ने र कुनै कारबाही गर्न नपाइने प्रस्ताव राखेको उनीनिकट नेताहरूको भनाइ छ । यस्तै, निर्णय र पत्राचारमा दुई नेता (दुई अध्यक्ष भए दुवैको, त्यसो नभए वरिष्ठ नेताको) को हस्ताक्षर हुनुपर्ने संगठनात्मक प्रस्ताव नेपालले अगाडि सारेका छन् । तर ओली समूहले निर्णय र पत्राचारमा दुई नेताको हस्ताक्षरलाई अस्वीकार गरेको छ । यसअघि साउन ६ मा भने विष्णु पौडेल र सुवास नेम्वाङले नेपाललाई भेटेर दुई अध्यक्षको प्रस्ताव गरेका थिए ।
‘माधव कमरेडले अध्यक्ष माग्नुभएको होइन । एकताका लागि दोस्रो अध्यक्ष पनि दिन तयार छौं भनेर केपीजीले नै भन्नुभएको हो । त्यसपछि यो छलफलको विषय बन्यो । तर दोस्रो अध्यक्ष हुँदैन भनेर माधव कमरेडले भन्नुभयो । त्यसमा हाम्रो पनि सहमति छ,’ बैठकमा ब्रिफिङ गर्ने क्रममा रावलले भनेका थिए, ‘कि दुई अध्यक्ष बनाउनु हुँदैन । बनाइसकेपछि समान हैसियतकै हुन्छ, पहिलो, दोस्रो भन्ने हुँदैन । यसमा अहिलेसम्म सहमति जुटेको छैन ।’
नेता नेपालले पार्टी एकताका लागि केही राजनीतिक विषयमा समेत ओलीको धारणा जान्न चाहेका छन् । उनले ओलीले सर्वोच्चको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभा विघटनलाई गलत भन्नुपर्ने, प्रतिनिधिसभा पूरा कार्यकाल चल्नुपर्ने र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सकेसम्म राष्ट्रिय सहमतिको बनाउन कोसिस गर्नुपर्ने प्रस्ताव पनि एकता प्रयासमा लागेका नेतामार्फत राखेका छन् ।
तर ओलीले व्यक्तिगत रूपमा मात्र होइन, पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमार्फत नै अदालतको निर्णयलाई गलत भनिसकेका छन् । उपाध्यक्ष ज्ञवालीले केन्द्रीय सदस्यको सुझाव आएलगत्तै स्थायी कमिटीले अब के गर्ने भन्नेमा निर्णय लिने बताए । ‘हामी एकताकै पक्षमा छौं तर ओलीले पार्टी विभाजन गर्न खोजिराख्नुभएको छ । जे गर्ने हो, हामी एकढिक्का हुनुपर्छ र अब छिट्टै निर्णयमा पुग्नुपर्छ भन्ने सबै कमरेडहरूको कुरा छ,’ उनले भने । केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्ने भएको छ । साभार कान्तिपुर