काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान जारीे छ ।
हिजो भएको मतदानमा ५ जना प्रतिस्पर्धामा रहेकाले कसैको पनि ५० प्रतिशत मत नकटेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा हालका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीमा प्रतिस्पर्धा भइरहेको छ ।
दोस्रो चरणको मतदान आज साढे ३ बजे सुरु भएको छ । दोस्रो चरणको मतदानको लागि पनि प्रतिनिधिहरू उत्साहपुर्वक तरिकाले लाइनमा बसेका छन् । यस अघि सभापतिको उम्मेद्वार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि तथा कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाइ सघाउने बताएका छन् ।
पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ प्रकाशमानले ३७१ तथा निधिले २५० मत प्राप्त गरेका थिए । दोस्रो चरणमा चुनाब हुने भएपनि सभापतिका प्रत्यासी कोइरालाले पत्रकार सम्मेलन गर्दै अन्तरमनको भावना सुनेर मतदान गर्न आग्रह गरे ।
निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुने निर्वाचन समितिको भनाइ छ । दोस्रो चरणको मतदानमा सभापतिका दुबै उम्मेद्वार मतदान स्थलमा पुगेर मतदातासँग मत मागेका छन् ।
मतगणना अहिले राति १० बजेपछि
सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार अहिले राति १० बजेपछि हुने भएको छ ।
राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।
सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए । देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने जनाएकाले देउवा सभापतिमा पुनस् निर्वाचित निश्चितप्रायः छ ।