काठमाडौं । नेपाली कांग्रेस निश्चित जाती र व्यक्तिको कब्जामा रहेको भन्दै पुर्व जिल्ला विकास समितिका सदस्य तथा कांग्रेस हुम्लाका पुर्व जिल्ला कार्यसमिति सदस्य नेत्रहादुर भण्डारी लगायतको समुहले नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।
पश्चायत कालदेखि नेपाली कांग्रेसमा लागेको भएपनि कांग्रेसले देश र जनताको पक्षमा काम गर्न नसक्ने भन्दै आफूहरु एमाले प्रवेश गरेको भण्डारीले बताएका छन् । एमाले केन्द्रीय पार्टी कार्यालय थापथलीमा एमाले केन्द्रीय कमिटिका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेको हातबाट अविर र खादा लगाएर पार्टी प्रवेश गरेका छन् ।
पछिल्लो समय देशको राष्ट्रिय हित र नागरिकको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै भएको निष्कर्ष सहित आफूले एमाले प्रवेश गरेको भण्डारीले जानकारी दिए ।
‘मैले लामो समयदेखि नेपाली कांग्रेसको स्थानीय तह र जिल्लामा रहेर काम गरे नेता भण्डारीले भने, निश्चित नाता र जातीलाई मात्रै पक्षपोषण गर्ने काम कांग्रेसबाट भएकाले कांग्रेसमा रहेर काम गर्न सकिएन ।’
यसैगरी मधेशी फोरम लोकतान्त्रीक पार्टी हुम्लाका पुर्व अध्यक्ष गगन भण्डारीले पनी औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् । बिजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रीक पार्टीको जिल्ला अध्यक्ष भएकै बेला उक्त पार्टीलाई केन्द्रीय अध्यक्ष गच्छादारले नेपाली कांग्रेसमा सामेल गराएपनि आफू कतै नलागेर आज एमाले प्रवेश गरेको अर्का नेता गगन भण्डारीले बताए । 'मलाई एमालेको नीति र कार्यक्रम निकै मन पर्दै आएको थियो', उनले भने, 'त्यसै कारण म २०७४ सालदेखि एमालेमा नजिक भएको थिएँ तर औपचारिक रुपमा एमाले अहिले प्रवेश गरेको हुँ ।'
पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पछिल्लो समय नेपालमा एमाले एक ठाउँमा अरु सबै एकाठाउँ धुब्रीकरण भएको बताए । देशको राष्ट्रियता र जनजीविकाको सवालमा एमालेले अघि सारेका कामलाई विफल बनाउन अन्य सबै शक्तिहरु एक ठाउँमा लागेको जिकिर गरे । लोकतान्त्रबको रक्षा गर्न र देशलाई समुन्नत बनाउन एमालेले लिएको नीति कार्यान्वयन गर्नका लागि सबै तहका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उपाध्यक्ष पोखेरलले हुम्लाको पार्टीलाई एक नम्बर बनाउन नेत्र र गगनको प्रवेशले महत्वपूर्ण योगदान गर्ने विश्वश व्यक्त गरे ।
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य दल फडेरा, दल रावल, एमाले हुम्लाका उपाध्यक्ष ज्ञामी वुमीलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।