काठमाडौं । रक्षामन्त्री डा.मिनेन्द्र रिजालले राजिनामा दिएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको पदमा पराजित भएपछी मन्त्री रिजालले राजिनामा दिएका हुन् । उनले आज सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा बुझाएका हुन् ।
काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका रिजालले सभापतीका उम्मेदवार शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेर ८ सय ९ मत प्राप्त गर्दै पराजित भएका थिए । यसैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामनासमेत दिएका छन् ।
रक्षामन्त्री पदबाट राजीनामा दिए लगत्तै सञ्चारकर्मीसँग् कुराकानी गर्दै मन्त्री रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको बताए । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ थियो ।
राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’
डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’
अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए । ‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।