काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही पार्टीको सहमहामन्त्रीमा पराजित हुन पुगेका छन् । उनी सह–महामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग हार्न पुगे । सभापति शेरबहादुर देउवा समूहका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् ।
उनी पराजित भएसँगै सामाजिक सञ्जालमा उनले ‘रक्षामन्त्री मिनेन्द्र रिजालले जस्तै नैतिकता प्रदर्शन गर्छन् या गर्दैनन् ? ’ भनेर प्रश्न उठ्न थालेका छन् । डा। रिजालले चौधौँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रिजालले राजनीतिमा बिरलै देखिने नैतिकता देखाएको भन्दै उनको प्रशंसा भइरहेको छ । मुख्यमन्त्री शाही पनि आफूभन्दा जुनियरसँग सहमहामन्त्रीमा पराजित भएपछि के गर्लान् भन्ने सबैले चासोका साथ हेरेका थिए । उनी उच्च ओहोदामा रहेर काँग्रेसभित्र चुनाव हार्ने दोस्रो ठुलो नेता समेत हुन् ।
तर मुख्यमन्त्री शाहीले भने पदबाट राजीनामा नदिने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले शनिबार बिहानै एक सूचना जारी गर्दै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन् । उनले भनेका छन्, ‘तपाईंहरूको म प्रतिको माया, स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईंहरूको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।’
उनले भनेका छन्,‘म पार्टीको आन्तरिक प्रतिस्पर्धाको खेलमा प्राप्त अङ्कको परिणाममा यो पटक छनोटमा पर्न सकिनँ, तर पनि मत जित्न नसके पनि मन जित्न सफल भएको छु ।’
उनले थपेका छन्, ‘मैले हारे पनि काँग्रेसले नै जितेको छ। विजय मात्र लोकतन्त्रको परिभाषा होइन अनि पराजय पनि अन्तिम र मृत्यु होइन बरु सफलताको आधार हो । काम गर्नका लागि पार्टीमा पद भइराख्नु पर्छ भन्ने छैन, लिडरसिप भनेको पोष्ट होइन यो त भिजन हो अनि पर्सन होइन ‘एक्सन’ हो ।’