काठमाडौं । सङ्घीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसी परियोजना बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।
अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा एमसीसी परियोजना बारे छलफल गर्न संसदमा प्रस्ताव लैजाने विषयमा छलफल हुने छ, भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अमेरिकासँग गरिएको एमसीसी सम्झौता छलफलका लागि संघीय संसदमा प्रस्ताव दर्ता भए पनि सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठक बस्नुअघि सत्तापक्षिय दलहरूको बैठक बस्ने तयारी पनि भएको छ ।
एमाले सहभागी नहुने
प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
यसअघि बोलाइएका सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित थियो । प्रधानमन्त्री तहबाट आफूहरुसँग छुट्टै छलफल हुनुपर्ने माग राख्दै आएको भए पनि फेरि सर्वदलीय बैठक आह्वान गरेर अहिलेको संसदको गतिरोध हटाउनका लागि सरकारले वास्ता नगरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीले कारबाही गरेका सांसदको नाम सूची सार्वजनिक नगरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको छ ।
विरोधमा उसले संसद बैठकमा नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका कारण विभिन्न विधेयकहरु ससदीय प्रक्रियामा जान सकेका छैनन् ।
अत्यावश्यक विधेयक भने सरकारले बल प्रयोग गरी संसदमा प्रस्तुत र पारित गर्दै आएको छ । सापकोटाले आफ्नो गल्ति सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्दै त्यसो नहुँदासम्म सदन चल्न नदिने एमालेले बताइसकेको छ । संसद प्रभावित भइरहदा कयौ बिधेयक अगाडी बढ्न सकेका छैनन् ।