सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वार्ड नम्वर १ देखि ५ सम्मका नागरीक एक वर्षदेखि खाद्यान्न नपाएको गुनासो गर्दै आएका छन् ।
खार्पुनाथ गाउँपालिकाको याङ्चु विक्री केन्द्रमा खाद्यान्न ढुवानी नहुँदा सो ठाउँका स्थानीय नागरिक खाद्यान्नको समस्या भोग्दै आएका छन् । मासिक पाउनुपर्ने खाद्यान्न गएको वर्षदेखि नपाएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीय नागरिक खाद्यान्न पाउनबाट बन्चित भएका छन् ।
एक वषदेखि याङ्चु बजारमा रहेको विक्री केन्द्रमा खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयले खाद्यान्न नपाएको वडा २ थालीका स्थानीय लामा रावलले गुनासो गरे । रावलले भने, “ वडा नम्वर २ थालीका ३ सय घर परिवारले खाद्यान्न नपाउँदा प्रत्यक्ष समस्यामा झेल्नु परेको छ । ” वर्षको एक पटक मात्रै गएको असार महिनामा थालीका ३ सय घरदुरीलाई भने ३० केजीको दरले प्रति घरधुरीलाई एक बोरा बाहेक त्यस यता खाद्यान्न नभएर वितरण नपाएको रावलले बताए ।
खार्पुनाथको याङ्चु बजारमा रहेको बिक्री केन्द्रमा ५ सय क्विन्टल ढुवानी हुनु पर्ने भएपनि अहिलेसम्म खाद्यान्न ढुवानी नभएपछि खार्पुनाथ गाउँपालिकाका नागरीकले चामल पाउनबाट बन्चित हुनु परेको छ । त्यस्तै गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको रावलले आरोप लगाएका छन् ।
हुम्ला जिल्लाका अधिकांस डिपो र विक्रि केन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारहरुको चरम लापरवाहीका कारण स्थानीयले पाउनु पर्ने खाद्यान्न सहजै पाउन सकेका छैनन् । यस्तै जिल्लाको दक्षिण भेगहरुमा रहेका सर्केगाड डिपो, छप्रेला, श्रीनगर लगायतका विक्री केन्द्र तथा डिपोहरुमा यतिबेला खाद्यान्न अभाव भएको छ ।
विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारहरुले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा थप संकट निम्तीने देखिएको छ । खार्पुनाथ गाउँपालिकादेखि दक्षिण भेगमा रहेका विक्री केन्द्र तथा डिपोका लागि पैदल मार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । अब पुस, माग महिनामा हुम्ला सहित कर्णालीका उच्च हिमाली जिल्लाहरुमा अत्याधिक हिमपात हुने गर्दछ ।
त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ । ठेकेदारहरुको चरम लापरवाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको वेवास्ताका कारण यहाँका नागरीकले वषौँदेखि समस्या झेल्दै आएका छन् ।