फागुन १२, काठमाडौं । जनअपेक्षा परिणाम निकाल्न नसकेको भन्दै सरकारको सदन र चिया चौतारोमा कुरा काट्न थालिएको बेला नेपका अध्यक्ष केपी ओली नेतृत्वको दुई तिहाईको सरकारमा मन्त्री हेरफेरको अन्तिम गृहकार्य भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेकपाका दुई अध्यक्षले नयाँ मन्त्री ल्याउने र मन्त्रालय फेरबदल गर्ने तयारी गरेको वालुवाटार स्रोतले जानकारी दिएको छ । स्रातका अनुशार मन्त्रीका लागि अब बस्ने मन्त्रिपरिषदको बैठक अन्तिम हुने आँकलन गरिएको छ । बालुवाटार निकट स्रोतले भन्यो ‘मन्त्रीमण्डलमा अब बढिमा तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ, भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने भएको छ ।’ नयाँमन्त्रीमा जनार्दन शर्मा प्रभाकर र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एक मन्त्रीमा को आउने भन्नेमा अझै टुंगो भने लागेको छैन ।
नयाँ तीन मन्त्री थपिने भएपछि वर्तमान तीन मन्त्री विदा हुने बारेमा अध्यक्ष द्धयबिच मौखिक निर्णय भएको बताइएको छ । विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेपनि अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री ओलीको मनसाय फेरिएको छ । खतिवडालाई एउटा मौका दिन सोचमा प्रधानमन्त्री ओली पुगेको बताइएको छ ।
बाँकी रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने बताइएको छ । बालुवाटार स्रोतका अनुशार लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने निचोडमा अध्यक्षद्धयबिच सहमती भएको बुझीएको छ ।
मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ । गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ । नेता सुरेन्द्र पाण्डेका बिषयमा कुन मन्त्रालय दिने भन्ने बारेमा केही टुंगो लागेको छैन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाण्डेलाई अर्थमन्त्री नै बनाउन चाहेका भएपनि प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले डा. खतिवडालाई नै अहिलेलाई जिम्मा दिने पक्षमा देखिएपछि भने मन्त्रालयबारे टुंगो नलागेको बताइएको छ ।
स्रोतका अनुशार वर्तमान सरकारको भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ । यसैगरी पर्यटनमन्त्रीको जिम्मा वर्तमान सुचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ ।