काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध चयन गरेको छ ।
सोमबार (आज) बसेको पहिलो बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो ।
सो प्रस्ताबलाइ कमिटीले अनुमोदन गरेको छ । यसअघि नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका थिए । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई आज निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको हो ।
उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो, जसलाइ अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो ।
वर्षमानको आग्रहमा माओवादी बैठक स्थगित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयन नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि अन्य पदाधिकारीबारे निर्णय गरेको थिएन् ।
बैठकपछि प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ति उपचारका क्रममा बाहिर भएकाले पदाधिकारी चयन नभएको बताए । उनले भने – सिनियर लिडर मध्ये वर्षमान पुन र ओनसरी घर्ति भोली डिस्चार्ज भएर नेपाल आउँदै हुनुहुन्छ । उहाँहरु समेत सहभागी भएर पदाधिकारी चयन गुर्न भावनात्मक दृष्टिले राम्रो हुने भएकाले आज चयन भएको हो ।
नेता कृष्ण बहादुर महराले पदाधिकारीका बारेमा होमवर्क गर्न बाँकी रहेको बताए । पुन र घर्ति नेपाल बाहिर रहेको र उनीहरुको समेत परामर्श आवश्यक रहेको उल्लेख गर्दै उनले एकहप्तापछि बाँकी पदाधिकारीको टुंगो लाग्ने बताए ।
माओवादी केन्द्रीय सदस्य रेखा शर्माले पदाधिकारी चयनमा आफू पनि सहभागी हुन पाउँ भन्दै पुनले गरेको आग्रह स्वीकार गर्दै बैठक २५ गतेसम्मका लागि सरेको बताइन् । चीनमा उपचाररत पुन भोली डिस्चार्ज भएर नेपाल आउने र त्यसपछि बैठकमा सहभागी हुने उनले बताइन् । यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोली मनोनयन गर्नुपर्ने र स्थायी समिति, पोलिट ब्युरो गठन लगायतको गृहकार्य गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्म स्थगित भएको उनले बताइन् ।