गोविन्द पोखरेल
काठमाडौं । गत बिहीबार महानगरीय अपराध महाशाखाले काठमाडौंको ज्याठा बस्ने नरेश भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गर्यो । मिसावट गरी गुणस्तरहीन मह बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले मह बनाउन प्रयोग गरिने मेसिन, केमिकलहरु र गुणस्तरहिन अवस्थाको ७६०० किलो तयारी तथा कच्चा मह समेत बरामद गर्यो ।
श्रेष्ठले आफ्नी श्रीमति रस्मिलाको नामको प्याकेजिङ कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसेर मह बिक्री वितरण गर्दै आएका थिए । महहरु उनले उपत्यकाबाहेक पोखरका होटेल तथा रेस्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्दै आएका थिए ।
उद्योगमा छापा हान्नु अघि प्रहरीले त्यहाँबाट उत्पादित मह परीक्षण गराएको थियो । परीक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको थियो । अपराध महाशाखा प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गराउ महानगरीय प्रहरी परिसर टेकुलाई सिफारिस गरिएको जानकारी दिए । उनले भने,‘ नक्कली मह बन्दै छ भन्ने हामीलाई १५ दिन अघि सूचना आएको थियो । सूचना पछ्याउदै जाँदा उक्त ठाउ भेट्यौं । अनि परीक्षणका लागि गुणस्तर विभागमा पठायौं । सरकारको मापदण्ड अनुसार छैन भन्ने पुष्टि भएपछि निर्माण गर्ने ठाउँमा पुगेर नियन्त्रणमा लियौं ।’
पक्राउ परेका श्रेष्ठले काठमाडौंमा यस्तो नक्कली मह उत्पादन गरे झन्डै दुईदर्जन कारखाना रहेका प्रहरी समक्ष बताएका छन् । आफू पक्राउ परेपछि उनले ५र६ सय रुपैंयामा शुद्ध मह बेच्न नसकिने प्रहरीकै अघि भनेका थिए ।
के हो मह, शुद्ध महमा के हुनुपर्छ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महलाई ‘मौरीद्वारा फूल वा रुखको बिरुवाको कुनै भागमा भएको रस जम्मा पारी मौरीद्वारा नै घारमा विशेष प्रकारले तयार पारेको गुलियो र बाक्लो तरल खाद्य पदार्थ’ भनेको छ । कुनै बाह् खाद्य र अखाद्य पदार्थ रहित शुद्ध र स्वच्छ हुनुपर्छ भनेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन्, ‘महलाई उद्योगमा उत्पादन गर्नै सकिँदैन तर प्रशोधन गर्न सकिन्छ । मौरीले मात्रै मह बनाउने भएकाले निजी उद्योगहरुमा निर्माण मात्रै बनाउँछ । ’ उनका अनुसार चिनी मिसाएर उद्योगमा मह उत्पादन गर्नु गैरकानुनी हो ।
विभागले शुद्ध महको गुणस्तरका लागि विभिन्न मापदण्ड तोकेको छ । जस अनुसार शुद्ध महमा जलांश २३ प्रतिशतभन्दा नबढेको,भष्म ०।५ प्रतिशतभन्दा नबढेको, सुक्रोसको मात्रा शुद्ध फूरसको महमा ५ प्रतिशतभन्दा नबढेको,अन्यमा १० प्रतिशतभन्दा नबढेको हुनुपर्नेछ । यस्तै,शुट फूरसको महमा रेड्युसिंग सुगरको मात्रा ६५ प्रतिशतमा नघटेको र अन्य महमा ६० प्रतिशतमा नघटेको हुनुपर्छ । विभागले तोकेको मापदण्डमा फ्रुक्टोज र ग्लुकोजको अनुपात९एफरजी रेसियो० ०।९५ नघटेको हुनुपर्ने र अम्लता ०।२ प्रतिशत नबढेको हुनुपर्ने उल्लेख छ । शुद्ध महमा पानीमा नघुल्ने ठोस पदार्थ ०।५ प्रतिशतमा नबढेको हुनुपर्ने छ भने हाइड्रोक्सीमिथाइल फफुरल (एच(एम(एफ) प्रति किलोग्राम महमा ४० मिलिग्रामभन्दा बढी नबढेको हुनुपर्ने उल्लेख छ ।
प्रहरीले श्रेष्ठको उद्योगबाट बरामद गरेको महमा एचएमएफ र एफरजी रेसियोको मान सरकारले तोकेको भन्दा फरक पाइएको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका सह–प्राध्यापक डा अच्युत अधिकारीका अनुसार एचएमएफ अम्ल मिसिएको चिनी तताउँदा निस्कने पदार्थ हो । उनका अनुसार यो पदार्थ क्यान्सरजन्य पदार्थ हो । स्वास्थ्यका लागि हानी हुने र क्यान्सरजन्य रोगहरु यसले लगाउन सक्ने विज्ञहरु बताउँछन् ।
कसरी बनिन्छ अशुद्ध मह ?
मह मौरीले मात्रै बनाउन सक्छ । तर बजारमा छ्यापछ्याप्ती अखाद्य मह खुलेआम बिक्री वितरण भइरहेका छन् । ती महहरु स्वास्थ्यका लागि हानीकारक छन् । प्रयोग गर्दा गुणस्तर हेरेर मात्रै प्रयोग गर्न विभागका प्रवक्ता महर्जनले आग्रह गरे ।
केन्द्रीय खाद्य प्रविधि क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख प्राडा धनबहादुर कार्कीका अनुसार कालोबजारी गर्नेहरुले चिनीबाट मह बनाउने गर्छन् । हेर्दा मह जस्तै देखिएपनि त्यस्ता पदार्थहरु शुद्ध मह नभएको उनी बताउँछन् । चिनीको एक भाग ग्लुकोज र अर्को भाग फ्रुक्टोज मिलेर बनिएको हुन्छ । शुद्धमा महमा फ्रुक्टोजको मात्रा धेरै हुन्छ भने अशुद्ध महमा सुक्रोजको मात्रा धेरै हुने प्राडा कार्की बताउँछन् । ‘फ्रुक्टोज फलमा पाइन्छ । शुद्ध महमा त्यही भएर फ्रुक्टोजको मात्रा बढी हुन्छ ।’
बजारमा पाइने चिनीलाई व्यवासयीले घोल बनाउँछन् । चिनीको घोलमा साइट्रिक एसिड बनाएर हालेपछि उक्त घोल मह जस्तै बाक्लो भएर आउने प्राडा कार्की बताउँछन् । उक्त घोलमा विशुद्ध शुक्रोज मात्रै हुने उनले सुनाए । अन्य अम्ल हालेपछि उक्त पदार्थ विच्छेदन भएपछि मह जस्तै च्यापच्याप हुने कार्कीले बताए । ‘चिनीको घोलमा एसिड हालेपछि सुक्रोज टुक्रिएर फ्रुक्टोज र ग्लुगोज हुन्छ । उक्त पदार्थ महजस्तै च्यापच्याप हुन्छ । खाँदा पनि मह जस्तै लाग्छ तर उपभोक्ताहरु सेवा गर्दा ठगिएको थाहा पाउदैनन् । ’
शुद्ध र अशुद्ध मह भनेर कसरी चिन्ने ?
हामीले सेवन गर्ने खाद्य पादर्थको गुणस्तरबारे सबैभन्दा पहिला थाहा पाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएको हो कि हैन भनेर थाहा पाउनुपर्छ । विभागबाट उत्पादन अनुमति लिएका उद्योगहरुले अनुमति पत्र पाएका छन् । विभागबाट अनुमति लिएका उद्योगहरुले आफ्नो उत्पादनमा ‘डीएफटीक्यूसी नम्बर’ अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको प्रवक्ता महर्जनले बताए ।
अनुमति लिएका उद्योगहरुले उत्पादन गर्ने खाद्य वस्तुको विभागले समय समयमा अनुगमन गरिरहन्छ । अनुमति नलिई उत्पादन भएका पदार्थबारे विभागलाई जानकारी गराएपछि तुरुन्तै अनुगमन गरेर कारबाही गर्ने प्रवक्ता महर्जनले जानकारी दिए । ‘लाइसेन्स नलिईकन कसैले खाद्य सामग्री बेच्छ भने त्यो गैरकानुनी हो । लेबलमा लाइसेन्स नम्बर छैन र शंका लागेको छ भने हामी सम्पर्क गरे तत्कालै निरीक्षणरअनुगमन गर्छौं,’ महर्जनले भने । विभागका देशभरमा रहेका ४३ वटा डिभिजन र जिल्ला कार्यालयहरु छन् । यी कार्यालयहरुबाट खाद्य वस्तुको अनुगमन दैनिक हुने गरेको उनले बताए ।
शुद्धरअशुद्ध मह छुट्टयाउने विधि दुई किसिमका छन् । एउटा प्रयोगशालामा परीक्षण र अर्को उपभोक्ता आफैंले । यसको पहिलो परीक्षण पानीबाट गर्न सकिने प्राडा कार्की बताउँछन् । एउटा सिसाको ग्लासमा तीन चौथाई पानी राखेर एक चम्चा मह हाल्ने र त्यो कसरी झर्छ भनेर हेर्ने । प्राडा कार्की भन्छन्,‘ शुद्ध मह छ भने पानीमा नघोलिकन पोको परेर तल झर्छ । चिनी हालेको मह छ भने मह पानी भएर जान्छ । अशुद्ध मह पिँधमा पुग्दा पुग्दै घोलिएर आधा हुन्छ ।’ उनका अनुसार एउटा बिर्को भएको सिसाको बट्टामा मह हालेर उल्टो पारिदिने र मह कसरी झर्छ त्यसलाई हेर्ने । शुद्ध मह बट्टाको वरिपरि सबै तिरबाटै विस्तारै धागो जस्तो भएर झर्ने उनी बताउँछन् । ‘शुद्ध छ भने तेलको धारा जसरी त्यान्द्रो भएर झर्छ । अशुद्ध मह उल्टो पार्ने बित्तिकै एकैपटक खर्लप्पै पिँधमा झर्छ । मिसावट छ भने उल्टो पारेको केही क्षणमा तल बस्छ । ’
यस्तै,अर्को विधिबाट पनि महको शुद्धता हेर्न सकिने उनी बताउँछन् । पानीमा मह मिसाएर त्यसलाई मज्जाले हल्लाउने र त्यसको फिँज हेर्ने । शुद्ध महमा मसिना फिँज देखिन्छन् भने अशुद्ध महमा ठूला पानीका फिँज देखिने उनी बताउँछन् ।
गुलियोपना हेरेर पनि महको गुणस्तर थाहा पाउन सकिने विज्ञहरु बताउँछन् । शुद्ध महको गुलियोपना खाने बित्तिकै केही समयमा नै हराउँछ भने मिसावट भएको मह केहीबेरसम्म मुखमा गोलियोपना थाहा हुन्छ ।
अर्को विधि भनेको फ्लेम टेस्ट । अर्थात् रुवाबाट बनेको धागोमा परीक्षण गर्न खोजिएको मह दल्ने । शुद्ध महमा धागो राम्रोसँग बल्छ भने मिसावट महमा एकैछिन बलेर निभिहाल्ने विज्ञहरु बताउँछन् । सबैभन्दा उत्तम विकल्प भने ल्याब परीक्षण नै भएको कार्कीले बताए ।
कान्तिपुर