फागुन १७, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टरमा दुर्घटनामा मृत्यु भएका ५ जनाको शव पहिचानका लागि डिएनए परीक्षण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अनुहार प्रस्ट चिनिएको छ भने उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको शवको पहिचान भएको हो ।
दुईजनाको शव पहिचान भए पनि अन्यको भने डिएनएबाट पहिचान गरिएको छ । बिहीबार राति अबेरसम्म सातै जनाको शव पहिचान गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । ताप्लेजुङबाट ल्याइएको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि पठाइएको थियो ।
सातवटा शवमध्ये पाँचवटा पहिचानमा समस्या आएपछि आफन्तहरूको स्याम्पल लिइएको चिकित्सकले जानकारी दिए ।
‘मृतकहरूको शव चिन्न सकिने अवस्था थिएन, त्यसैले शव पहिचान गर्न कठिन भएको छ, हामीले शव पहिचान गर्न मृतकका आफन्तहरूको पनि स्याम्पल लिएका छौँ ।’ त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले भने ।
अन्तिम श्रद्धाञ्जलिका लागि अहिले टुडिखेलमा राखिदैं
नेकपाका युवा नेता तथा सास्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र मन्त्री अधिकारीसहित ७ जनाको शव अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार (आज) राजधानीको टुँडिखेलमा राखिने भएको छ । मन्त्री अधिकारी लगायतको शव श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालबोटलाई जानकारी दिए ।
बिहीबार बसेको सत्तारुढ दल नेकपा सचिवालय बैठकले बिहीबार (हिजो) दिउँसो ३ बजेदेखि नै श्रद्धाञ्जलिका लागि टुडिखेमा राख्ने निर्णय गरेको थियो । तर, चिकित्सकले सातै जनाको शव पोस्टमार्टमका लागि धेरै समय लाग्ने भएपछि अन्तिममा आएर श्रद्धाञ्जलि कार्यक्रम सारिएको थियो ।
नेकपाले अन्तिममा आएर अपरान्ह ३ बजे चिकित्सकको सल्लाह अनुशार लाश पहचिानको काम नसकिएपछि विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली कार्यक्रमलाई आज बिहानसम्मका लागि सारिएको थियो ।
मन्त्री अधिकारीको अन्तिम संस्कार गृह जिल्ला पोखरामा
मन्त्री अधिकारीको अन्तिम संस्कार भने गृहनगर पोखरामा गरिने नेकपाले जनाएको छ । टुँडिखेलमा ११ बजेसम्म श्रद्धाञ्जलिका लागि राखेपछि उनको शवलाई गृहजिल्ला कास्की पठाइनेछ ।
गण्डकी प्रदेश सरकारले दिउँसो १ बजे पोखरामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । उनको शव दिउँसो १ बजे पोखरामा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलिका लागि राखिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । श्रद्धाञ्जलि कार्यक्रमपछि शवलाई प्रदर्शनी केन्द्रबाट नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सुनेलगत्तै राजधानी आएका उनका आमाबाबु पनि बिहीबारै पोखरा फर्किसकेका छन् ।
नेकपाको श्रद्धाञ्जलि सभा फागुन २३ गते
नेकपाले आप्mना युवा नेता समेत रहेका केन्द्रिय सदस्य रविन्द्रअधिकारीको निधनको शोकमा बिहीबार देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाएको छ । पार्टी सचिवालयको बैठकले तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालयको आकस्मिक बैठकले आगामी बिहीबार काठमाडौंमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टीका नेता स्वर्गिय अधिकारीको शोक सभा भने आगामी फागुन २३ गते राजधानी काठमाडौंमा गर्ने निर्णय नेकपाले गरेको छ ।
नेकपाले सबै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरूप्रति समवेदनासमेत प्रकट गरेको छ । बैठकले दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ । पोखराका स्थायी बासिन्दा अधिकारी प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
बैठकले मन्त्री अधिकारीलगायत यती एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।