फागुन १९, सुर्खेत । विकट कर्णालीको पहिचान बदल्ने नाराको रटान गर्ने कर्णाली प्रदेशले कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रममै अनिमितता गरेको पाइएको छ ।
२०७५ वैशाख १ गते निकै तडक भडकका साथ कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा सार्वजनिक लेखा समितिले गरेको छानबिनको क्रममा उक्तअनियमिता भएको पाइएको हो ।
उद्घाटन कार्यक्रममा ४६ लाख रुपैँया खर्च गर्न अख्तियारी दिइए पनि त्यसको दोब्बर खर्च भएको समितिले जनाएको छ । लेखा समितिले छानबिनका लागि सदस्य करविर शाहीको संयोजक्त्वमा छानबिन समिति गठन गरेको थियो ।
लागत अनुमानबिना नै मन्त्रालयलाई खर्च गर्न दिइएको, कतिपय मन्त्रालयहरुले तोकिएको रकमभन्दा दोब्बर खर्च गरेको पाइएको, रकम मदिरा सेवन देखि अन्य अदृश्य शिर्षकमा खर्च भएको उपसमितिका करविर शाहीले नेपालबोटलाई जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको खर्च, छानबिन समितिलाई उपलब्ध गराएको खर्च विवरण र महालेखा परीक्षकको प्रतिवेदनमा फरक खर्च विवरण देखिएपछि उक्त अनियमितता थप पुष्टि भएको हो । सरकारले सदनमा उपलब्ध गराएको विवरणमा ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्च विवरण रहेको छ भने महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ । तर लेखा समितितिलाई बुझाइएको खर्चविवरणमा भने ७८ लाख १४ हजार ६ सय ५८ रुपैँया ५६ पैसा रहेको छ । यसले कर्णाली समृद्धीका चर्का नारा लगाउने कर्णाली प्रदेश सरकारले कर्णाली चिनाउने पहिलो कार्यक्रममै अनियमितता गरेको देखाएको छ ।
निकाय पिच्छे खर्चको फरक फरक विवरण उल्लेख गरिनु र सार्वजनिक खरिद ऐन विपरित खर्च गर्नुले सहजै अनियमिता भएको पुष्टी भएको उपसमितिले बताएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्चलाई आधिकारिक खर्च विवरण मान्ने पनि समितिले निष्कर्ष निकालेको छ ।
२०७५ साल वैशाख १ गते मुगुको रारामा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन सहित राराबाटै देशवासीका नाममा संबोधन समेत गरेका थिए ।