फागुन २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि पहिलो पटक आक्रामक रुपमा खनिएका छन् ।
राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।
‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई नेकपा नै भन्दा रहेछन्, अब त नेकपा भन्न पनि लाज भैसक्यो’, आक्रमक शैलीमा प्रस्तुत भएका ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा भन्न ।’
ओलीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए । ‘उहाँहरु (विप्लव) का प्रचा पनि हामी (सरकार) ले हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’
अझै पनि त्यो बाटो छाड्न विप्लवलाई प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘अझै पनि भन्न चहान्छु ओलीले भने, 'त्यो बाटो छाड्नुस, नत्र यो देशमा शान्ति सुरक्षा गर्ने जिम्मा सरकारको हो त्यो गर्छ ।’